logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रधानमन्त्रीको ब्यारेकमा बास कारण यस्तो रहेछ


  • राजनीति
  • बुधबार, बैशाख ४ २०७६

एक कार्यक्रमका लागि मंगलबार नेपालगञ्ज हुँदै सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली मौसम खराबीका कारण श्री एयरलाइन्सको विमान चल्न नसकेपछि नेपाली सेनाको ब्यारेकमा बास बसेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा भेरी बबईको सुरुङ ‘ब्रेक थ्रु’ गरिसकेपछि प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो सिक्टा सिँचाई आयोजनाको हवाई निरीक्षण गरेका थिए । प्रधानमन्त्री ओलीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट हेलिकोप्टर चढेर सुर्खेत पुगेको थियो ।

सुर्खेतबाट नेपालगञ्ज फर्किइसकेपछि प्रधानमन्त्री ओलीले उपमहानगरपालिकाभित्र खोलिएको होटल सोल्टीको उदघाटन गरे ।

प्रधानमन्त्री ओली मंगलबार नै काठमाडौं फर्किने कार्यक्रम थियो । तर, काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको विमान मौसमको खराबीका कारण नेपालगञ्जमा बस्न नसकी आकाशबाटै काठमाडौं फर्कियो । विमान नआएपछि प्रधानमन्त्री नेपालगञ्जस्थित सेनाको ब्यारेकमा बास बसेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

नेपाली कांग्रेस ‘घण्टाकर्ण’ जस्तो भयो

प्रधानमन्त्री ओलीले बाँकेमा नेकपाका अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गरेका छन् । यसक्रममा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई ‘घण्टाकर्ण’ जस्तै भएको आरोप समेत लगाए । उनले कांग्रेसलाई यसअघि ‘नन्दीभृंगी’को उपमा दिएका थिए ।

कांग्रेसका नेताले प्रधानमन्त्रीको भाषण आउँदा टीभी बन्द गर्छु भनेको सन्दर्भ कोट्याउँदै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलको खरो आलोचना गरे । कांग्रेसले अरुका कुरा नसुनियोस् भनेर कानमा ठुल्ठुला घण्ट झुन्ड्याएर हिँडेको प्रधानमन्त्री ओलीले बताए ।

आफ्ना कार्यकर्तालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता प्रक्रिया अब चाँडै टुंगो लाग्ने आश्वासन समेत दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार