राजनीति
माओवादी जनयुद्धको उद्गम थलो रोल्पाको थबाङमा प्रहरीले खानतलासी गरेको छ । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ताको घर खानतलासी गरेको हो ।
उर्जामन्त्री बर्षमान पुनको ठाडो निर्देशनमा प्रहरीले नेकपाका कार्यकर्ताको घरमा गएराति खानतलासी गरेको समाचारमा जनाइएको छ । मन्त्री पुन थबाङ पुगेको साँझ नै गाउँ आसपासका डाँडाहरुमा नेकपाका कार्यकर्ताले राँके जुलुस र नाराबाजी गरेपछि प्रहरीले स्थानीयको घरमा खानतलासी गरेको थियो ।
स्थानीयवासीका अनुसार विप्लवका कार्यकर्ता खोज्न गाउँ पसेको प्रहरीले स्थानीय महिला र बालबालिकालाई धम्क्याएको थियो । मन्त्रीको सुरक्षार्थ थबाङ पुगेको प्रहरीले स्थानीय नेकपाका नेता जयप्रकाश रोका प्रताप र युवा नेता अमित घर्तीमगरको घरमा जबर्जस्ती छिरेर धम्क्याएको स्थानीयले बताएका छन् । ‘प्रहरीले माथिको आदेश छ, तिमीहरुलाई ठिक पार्छौं भनेर धम्क्याए,’ थबाङकी एक महिलाले भनिन्, ‘प्रहरीले घरका ढोका समेत फुटाइदिएका छन् ।’
घर खानतलासी गर्दा मन्त्री पुनसँगै प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, प्रहरी नायब उपरीक्षक दीपक खड्का लगायतका सुरक्षा अधिकारी थवाङमै थिए । मन्त्री पुनसँगै थबाङमा प्रदेश सांसद दीपेन्द्रकुमार पुन र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा समेत थिए ।
सडकमार्गबाट थवाङ पुगेका उर्जामन्त्री वर्षमान पुन नेता बन्दमा परेपछि हेलिकप्टर मगाएर सदरमुकाम फर्केका छन् । जलजला क्षेत्रलाई ‘पर्यटकीय स्थल’ घोषणा गर्न सडक मार्गबाट बुधबार थबाङ पुगेका उर्जामन्त्री पुन बिहीबार सवा ९ बजेतिर हेलिकप्टरबाट सदरमुकाम लिवाङ आएका हुन् । onkhabar