logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपाका युवा सूर्य भूजेल रिहा भएलगत्तै पुनः पक्राउ


  • राजनीति
  • शुक्रबार, बैशाख ६ २०७६

नेकपा नेता सूर्य भूजेल सर्वोच्च अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।

कर्तव्य ज्यान, हातहतियार तथा बिस्फोट, संगठित अपराध र राज्यविरुद्धको अपराध मुद्दा चलाइएका भूजेललाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा गर्ने आदेश दिए पनि शुक्रबार प्रहरीले फेरि पक्राउ गरेको हो।

उच्च स्रोतका अनुसार उनी अहिले काठमाडौं परिसरको हिरासतमै छन्। उनलाई हिरासत लिनुको प्रष्ट कारण भने प्रहरीले खुलाएको छैन।

‘उनी अहिले काठमाडौं परिसरको हिरासतमै छन्, अदालतले आदेश दिएलगत्तै उनलाई सर्वोच्च परिसरबाट प्रहरीले पक्रेको हो,’ प्रहरी उच्च स्रोतले भन्यो।

‘बन्दी प्रत्यक्षीकरणको रिटमा छुटेको भए पनि बाँकी मुद्दा जारी नै रहेकाले उनलाई पुन: पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले भन्यो।

चार वटै मुद्दा चलिरहेका बखत बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले भूजेललाई थुनामुक्त गर्न आदेश दिएको थियो।

नख्खु बिस्फोटमा संलग्न रहेको आरोपमा भूजेललाई फागुन १५ गते कलंकीबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। गत चैत २७ गते उनकी श्रीमती पितकुमारी भूजेलले प्रहरीले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएकी थिइन्।

सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। प्रतिबन्धन लगाएसँगै प्रहरीले विप्लव समूहमा आबद्ध देशभरिका ६ सय बढी नेता कार्यकर्तालाई पक्राउ गरी विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार