राजनीति
पोखरा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस मनाउने भएको छ। नेकपा केन्द्रिय सचिवालयको आयोजनामा सोमबार दिउँसो प्रज्ञाभवन कमलपोखरीमा स्थानापना दिवस मनाउन लागेको हो।
कार्यक्रमलाई अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘ प्रचण्ड’, र वरिष्ठ नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी एकताको लामो समयपछि नेकपाले सम्पूर्ण तहको एकता टुंग्याउने कसरत सकिएको छ।
स्थापना दिवसको अवसरमा पार्टी एकता प्रक्रिया टुङ्गाएको जानकारी दिएको छ। जिल्ला तहको एकताका लागि तत्कालीन एमालेभित्र ओली र नेपाल पक्षबीचमा नेतृत्व टकरावका कारण एकता प्रक्रियाले गति लिन सकेको थिएन। पार्टी एकता सम्बन्धित कमिटी–कमिटी बीचको एकता भएकाले निश्चित विधि बनाई गर्नुपर्ने अडानमा वरिष्ठ नेता माधव नेपाल रहेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल नेपाल पक्षलाई सहमतिमै लिएर एकता टुंगो लगाउने तयारीमा जुटेका थिए।
नेकपाभित्र ७७ जिल्लामध्ये एकता क्रममा ४५ पूर्वएमाले र ३२ जिल्लाको अध्यक्ष पूर्वमाओवादीले लिने गरि भागबन्डामा सहमति भइसकेको छ। विधानअनुसार नेकपाका जिल्ला कमिटीमा अध्यक्ष र सचिव दुई जना मात्र पदाधिकारी हुनेछन्। अध्यक्ष पूर्वएमालेले पाएको जिल्लामा सचिव पूर्वमाओवादी र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लाको सचिव पूर्वएमालेले लिने सहमति ओली र दाहालबीच भइसकेको छ।