राजनीति
पार्टी एकता भएको झण्डै एक बर्षपछि नेकपाले जिल्लाको नेतृत्व हाँक्ने गरी ७७ जिल्लामा ७७ जना अध्यक्ष र सचिवको नाम घोषणा गरेको छ।
७७ मध्ये ३ जिल्लामा महिला नेतृहरुले जिल्लाको पार्टी नेतृत्व हाँक्ने जिम्मेवारी पाएका छन्।तिनमा मकवानपुरकी मुन सिग्देल, काभ्रेकी रुकु चौलागाई र लमजुङकी मधु अधिकारी छन्। तीन मध्ये मकवानपुरकी सिग्देलले पूर्व एमालेको तर्फबाट नेकपाको जिल्ला नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन् भने काभ्रेकी चौलागाईं र लमजुङकी अधिकारीले पूर्व माओवादी केन्द्रको तर्फबाट।त्यसमध्ये लमजुङकी अधिकारी नेकपाको जिल्ला अध्यक्ष हुनुअघि पूर्व माओवादी केन्द्रको जिल्ला संयोजक थिइन्।
उनी गण्डकी प्रदेशको प्रदेश सभा सदस्य छिन्। जनयुद्धकालदेखि नै माओवादी राजनीतिमा संलग्न अधिकारीले जनयुद्धमा आफ्ना श्रीमान् आशलाल गुरुङलाई गुमाएकी थिइ न्माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधान सभा निर्वाचनमा उनी लमजुङ–२ बाट तत्कालिन माओवादीको तर्फबाट उम्मेदवार थिइन्। तर, गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट पराजित भइन्। दोस्रो निर्वाचनमा समानुपातिक सूचीमा परेपनि संविधान सभा सदस्य बन्ने अवसर उनलाई जुरेन।
रोचक त के भएको छ भने, राजनीति पृष्ठभूमिका दृष्टिले आफूभन्दा बरिष्ठ भएपनि नातामा दाजु पर्ने लमजुङ ‘क’ का प्रदेशसभा सदस्य धनन्जय दवाडीलाई उछिन्दै लमजुङको पार्टी नेतृत्व पाएकी छन्। अधिकारी जिल्ला अध्यक्ष बन्दा उनका दाजु धनन्जय दवाडीले जिल्ला सचिवको जिम्मेवारी पाएका छन्।दवाडी यसअघि पूर्व एमालेको लमजुङ जिल्ला अध्यक्ष थिए। ‘मधु नातामा मेरी बहिनी पर्छिन्, म उनको दाजु, उनी मेरी फुपुकी छोरी हुन्’ दवाडीले भने, ‘पार्टीको निर्णय हो, नाताले बहिनी भएपनि अब उनी अध्यक्ष र म सचिव बनेर जिल्ला पार्टी चलाउँछौँ।’