राजनीति
भ्रष्टाचार सम्बन्धि कार्वाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख सूर्यनाथ उपाध्यायले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउँदै गए मुलक नै नरहने चेतावनी दिएका छन् ।
हाल मुलुकमा देखिएको नागरिकता सम्बन्धि वेथितिको निगरानी गर्दै अएको नागरिकता विधेयकविरुद्व संघर्ष समन्वय समितिले शनिबार राजधानीमा गरेको छलफलमा अख्तियारका पुर्व प्रमुख उपाध्यायले राजनीतिक दलका नेताहरुले नागरिकतामा कडाई गर्नुको सट्टा विदेशीलाई कसरी दिलाउन सकिन्छ भनी गरेका कसरत नै राष्ट्रघाती कसरत भएको टिप्पणी गरेका हुन् ।
उपाध्यायले सत्ता टिकाउने सवालमा विदेशीलाई नेपाली नागरिकता दिने बर्षौदेखि चल्दै आएको गलत प्रवृति विरुद्ध आवाज नउठाए एकदिन मुलुकको अस्तित्व नै समाप्त हुने बताए ।
उनले २०६३ साल देखि नै विदेशीलाई नेपाली नागरिकता दिलाउने सन्र्दभमा नेताहरुले मुलुकभित्रैबाट विभिन्न प्रपञ्ज गर्ने गरेको दाबी पनि गरे ।
उनले शान्ति सम्झौतापछि बनेको नागरिकता ऐन २०६३ का आधारमा नागरिकता बाँड्ने काम नै ठूलो राष्ट्रघाती कदम भएको टिप्पणी गरे ।
कार्यक्रममा नागरिक अगुवा साध्य बहादुर भण्डारीले संविधान संसोधन गरेर विदेशीले नेपाली नागरिकता पाउने सम्पुर्ण प्वाल बन्द गर्नुको सट्टा सरकारले तक्मा लगाउने काम गरेको आरोप लगाए ।
संसदको राज्यव्यवस्था समितिमा नागरिकता विधेयक सम्बन्धी छलफल चलिरहेका बेला गृहमन्त्रालयको निर्देशनमा नागरिकता वितरणको काम हुन थालेपछि यसको चौतर्फी विरोध हुँदै आएको छ ।