logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

देउवा दाेषी भए कार्वाही हुनुपर्छ : प्रकाशमान सिंह


  • राजनीति
  • मंगलबार, बैशाख १७ २०७६

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा दोषी देखिए उनलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन संखुवासभाले मंगलबार खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा जो कोहीको संलग्नता रहेको देखिए पनि कारवाही हुनुपर्ने बताएका हुन् ।

‘कांग्रेसका नेता या अरु कुनै पार्टीका हुन्, यसको निष्पक्ष तवरले छानविन गर्नुपर्छ र कारबाही हुनुपर्छ,’ उनले भने ।

कांग्रेसका पूर्व महामन्त्री सिंहले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाए । ‘सरकारसँग दुई तिहाई बहुमत छ,’ उनले भने, ‘संविधान केही होइन, कानुन केही होइन, भन्ने रवैया देखाइरहेको छ ।’ उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे ।

‘सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको छ,’ उनले भने, ‘यो हामी कदापी यस्तो हुन दिन्नौं ।’

नेता सिंहले सरकार नेकपाका नेताका गल्ती ढाकछोप गर्न लागेको समेत आरोप लगाए । उनले दुई तिहाइ बहुमतको सरकारका गतिविधि कुनै पनि क्षेत्रमा सन्तोषजनक नरहेको दाबी गरे । डेढ वर्षसम्म पनि सरकारले प्राथमिकता पहिचान गरेर गति लिन नसकेकाले सबै क्षेत्रमा असन्तुष्टि बढेको बताए । उनले अहिलेको सरकार सबै क्षेत्रमा सरकार असफल हुँदै गएको दाबी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार