राजनीति
काठमाडौं- मंगलबार बिहान नेकपा अध्यक्ष प्रचण्डको निवासमा पार्टी प्रवेश कार्यक्रम चलिरहेको बेला रौतहट इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता पुगे पनि पार्टी प्रवेश नगरी फर्केका छन।
अमर यादव नेतृत्वको तराई मधेश फोरम नेकपामा बिलय हुने कार्यक्रममा मेहताले पनि नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेको चर्चा चलिरहेका बेला मेहताकै नगरपालिकाका कांग्रेसका अन्य नेता कार्यकर्ता प्रचण्डको हातबाट टीका लगाएर नेकपा प्रवेश गरे पनि उनले भने टीका लगाएनन् ।
उनका निकट सहयोगी मोहनप्रसाद मेहतासहित ४०५० जना स्थानीय नेता नेकपा प्रवेश गरे । तर कतिपय सञ्चारमाध्यममा मेयर पनि नेकपा प्रवेश गरेको समाचार आएपछि उनैलाई सोध्दा आफू पार्टी प्रवेश भने नगरेको बताए ।
प्रचण्ड निवासमा पुगेको स्वीकार गरे पनि मेहताले पार्टी प्रवेश नगरेको बताए । रौतहटका सांसदसमेत रहेका नेकपा प्रदेश २ का सचिव प्रभु शाहले पनि मेयर मेहता पार्टी प्रवेश कार्यक्रममा उपस्थित भएको तर, औपचारिक रुपमा पार्टी प्रवेश नगरेको बताए ।
मेयर मेहता औपचारिक रुपमा नेकपा प्रवेश नगरेको भनिए पनि उनी पछिल्लो समय कांग्रेसमा पनि छैनन् । तत्कालिन लोकतान्त्रिक फोरमबाट मेयर जितेका मेहता पार्टी बिलयसँगै कांग्रेस भएका थिए । तर, उनी कांग्रेसमा सक्रिय भएका छैनन् र नेकपा नेता प्रभु साहको निकट रहेर काम गर्दै आएका छन् । मेहताले पनि आफू कांग्रेसमा नरहेको प्रष्ट पारे ।