राजनीति
सत्तारुढ दल नेकपाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न नेतृत्वसँग माग गरेका छन् ।
आज शनिबार संघीय संसदभवनमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रमाथि स्पष्ट पार्न माग गरेका हुन् ।
‘बैशाख २४ गते सरकारको नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा तपाईहरुले आ–आफ्नो धारण राख्न सक्नुहुनेछ’ भन्दै दलका उपनेता सुवास नेम्वाङ्गले भनेपछि अधिकांश सांसदहरुले नीति तथा कार्यक्रमकै बारेमा स्पष्ट पारिनुपर्ने माग गरेका हुन् ।
साम्सदहरुले दुई नेताको निर्देशन र व्हीप मात्रै जारी गर्ने कुरा किमार्थ हुन नसक्ने भन्दै प्रधानमन्त्रीकै उपस्थितिमा आफूहरुलाइै जिज्ञासा राख्न दिनुपर्ने माग गरे ।
उनीहरुले नीति तथा कार्यक्रममा प्रस्तुत भएका तथ्याांङ्क र भाषाप्रति बैठकमा स्पष्ट पार्नुपर्ने अडान लिए ।
सांसदहरु जनार्दन शर्मा र रामकुमारी झाँक्रीले राष्ट्रपतिको सम्बोधनमा प्रयोग गरिएको ‘मेरो सरकार’ को सैद्धान्तिक आधार र उद्देश्य स्पष्ट पार्न माग गरे ।
सांसद जनार्दन शर्माले भने, ‘जुन भाषा प्रयोग गरेर राष्ट्रपतिलाई विवादमा ल्याईयो त्यो कुन मनसायले ल्याईयो प्रष्ट हुनुपर्छ ।’
सांसद झाँक्रीले भनिन्, ‘दलको बैठकमा कुरा राख्न नदिने अनि जबरजस्त यो कुरामा समर्थन गर भनेर निर्देशन मात्रै व्हीप जारी गर्ने कुरा किमार्थ हुँदैन । त्यसकारण यहाँ छलफल गर्ने वातावरण हुनुपर्छ । पिएम आएपछि यो नीति तथा कार्यक्रममाथि हामी यही क्लियर भएर जानुपर्छ ।’
‘नीति तथा कार्यक्रममा प्रस्तुत गरिएका केही तथ्याङ्कहरु, त्यहाँ प्रयोग गरिएका केही भाषाका बारेमा हामी क्लियर हुन चाहन्छौं । नेपाल सरकार, हाम्रो सरकार, मेरो सरकार भन्ने सन्र्दभमा, हिजो ४७ सालको संविधान अन्र्तगत श्री ५ महाराजधिराजले मेरो सरकारले गर्छ भने जस्तो भाषा हो भने यो प्रयोग गरिनुहुँदैन । गरियो । गरियो भने पनि यसमा के सैद्धान्तिक आधार छ ? के उद्देश्य छ ? के–का लागि यो भाषा प्रयोग गरियो ? आज यो बैठकमा दुई जना नेताहरुको निर्देशन मात्रै होइन कि हाम्रा कुरा पहिले सुनिनुपर्छ ।’
सांसदहरुले मेरो सरकार प्रयोग गरिएको भन्दै असन्तुष्टी जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको काम, कर्तव्य र अधिकारका बारेमा लामो प्रशिक्षण दिँदै अन्तर्राष्ट्रिय अभ्यास भएकाले बहस आवश्यक नरहेको बताए ।
रामकुमारी झाँक्रीको प्रश्न लगत्तै मिडियालाई बैठक कक्षबाट बाहिर निकालिएको थियो ।