राजनीति
पोखरा- सत्तारुढ नेकपाभित्रै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्द प्रयोग गरेका विषयमा संसदीय दलको बैठकमा चर्काचर्की परेको छ। शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले पटक-पटक ‘मेरो सरकार’ भनेकी थिइन्। त्यस विषयमा नेकपाकै सांसदहरूले आपत्ति जनाएका हुन्।
शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा सांसद रामकुमारी झाँक्रीले ‘मेरो सरकार’ भनिएकामा आपत्ति जनाउँदै यो भाषा बेठीक भएको बताइन्। उनले भनिन्, ‘गणतन्त्रमा यस्तो भाषा सुहाउँदैन।’अर्का सांसद जनार्दन शर्माले पनि नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ भनेको के हो भन्दै यस विषयमा छलफल गर्नुपर्ने माग गरेका थिए।
त्यसक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम आफूले पढदा ‘मेरो सरकार’ उल्लेख नभएको बताएपछि सांसदहरू झन् अचम्मित भएका थिए।‘हामीबीच छलफल हुँदा मेरो सरकार भन्ने शब्द थिएन,’ दाहालले भने, ‘यस विषयमा प्रधानमन्त्रीज्यूलाई जानकारी होला।’
प्रधानमन्त्री ओलीले भने ‘मेरो सरकार’ भन्ने शब्दावली विदेशमा पनि राष्ट्रध्यक्षले प्रयोग गरेको प्रसंग जोड्दै राष्ट्रपतिको बचाउ गरेका थिए। ‘यो अन्तर्राष्ट्रिय चलन हो,’ उनले भने, ‘सार्वभौम जनता हो, जनताले चुनेको सरकार र राष्ट्रपतिले मेरो सरकार भन्नु उचित छ ।’सांसदहरूले ‘मेरो सरकार’ लगायत सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्नुपर्ने माग राखे पनि नेकपाले भने रोक लगाएको छ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्।बैठकपछि झाँक्रीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी छन्, ‘मेरो सरकार भन्ने चलन संसारभरि छ भन्ने भनाइसँग सहमत हुन सकिएन। आफ्नो फरक मत राख्दै नीति तथा कार्यक्रम पास गर्न भोट हाल्नेछु।’प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको विपक्षीबाट विरोध हुन थालेको भन्दै बचाउ गर्न र समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिए।‘नीति तथा कार्यक्रममा कसैले पनि औंला ठड्याउने ठाउँ छैन,’ ओलीले भने, ‘यसै अनुसार प्रस्तुत हुनुहोला।’
नेपाल खबरबाट साभार