logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सभामुखले पदिय भुमिका खेल्न सक्नु भएन, ओलीको आदेशपालक बन्नु भयो : गगन थापा


  • राजनीति
  • मंगलबार, बैशाख २४ २०७६

संसदको प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा संघीय सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको आरोप लगाउनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भूमिकाविहीन अवस्थामा बसेको थापाले आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले ‘आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई छोडेर अन्यको जवाफ दिन्छु’ भनेपछि आफूहरुले नियमापत्ति गर्दै असंसदीय भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउन रुलिङ गर्न माग गर्दा उल्टै प्रधानमन्त्रीकै जवाफलाई निरन्तरता दिएर सभामुखले आफ्नो निरीहता देखाएको टिप्पणी उहाँले गर्नुभयो । बैठकपछि संघीय संसदभवनमा सञ्चारकर्मीसँग संंक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले सभामुख सभामुखको भूमिकामा नभई प्रधानमन्त्रीको आदेशपालक बनेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फेरि एक पटक संसदको सभामुख सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन । व्यवस्थापिकाको प्रमुख भएर होइन कार्यपालिकाको छाँया प्रधानमन्त्रीको आदेशपालकको रुपमा उहाँको भूमिकामा रहनुभएको छ भन्ने पुनः पुष्टि गर्नुभएको छ ।’

उहाँले प्रधानमन्त्रीको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनुभयो । ‘तिमीले प्रयोग गर्यौ । त्यसकारणले गर्दा मैले पनि प्रयोग गर्छु । मसँग कुस्ती खेल्ने हो ?’ भन्ने ढंगबाट प्रधानमन्त्री प्रस्तुत भएको टिप्पणी उहाँले गर्नुभयो । नेपालको संसदीय इतिहासमै नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै उहाँले त्यसबारे पार्टीले गम्भीर छलफल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले कुनै पनि निकायको मान राख्दैन भन्ने थप पुष्टि भएको छ । यसबारे हामी छलफल गर्छौं । तर यो समान्य घटना होइन । आज जुन घटना भयो, प्रधानमन्त्रीले जस्तो व्यवहार गर्नुभयो, सभामुख जसरी निरीह हुनुभयो, यो नेपालको संसदीय इतिहासको सानो घटना होइन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार