राजनीति
काठमाडौंका १० मध्ये ३ क्षेत्रमा प्रतिनिधिसभाको सिट पाएको माओवादी केन्द्रभित्र तेब्बर आकांक्षी देखिएका छन् । संगठन र जनाधारमा अत्यन्त कमजोर रहेको काठमाडौंमा एमालेको मतले जित्ने आँकलन गर्दै नेताहरु उम्मेदवार बन्न इच्छुक देखिएका हुन् ।
माओवादीले भागबण्डामा काठमाडौंको ६, ८ र १० नम्बर क्षेत्र पाउँदैछ । ६ नम्बरमा ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज झक्कु सुवेदी, काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपाने र जिल्ला अध्यक्ष हिमाल शर्माले दाबी गरेको स्रोतले जनाएको छ ।
शाक्य २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । हिमाल शर्मा दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार भएर तेस्रो स्थानमा रहेका थिए । झक्कुले २०६४ मा एमाले नेता माधवकुमार नेपाललाई क्षेत्र नम्बर २ मा पराजित गरेका थिए ।
अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने भने अहिलेसम्म कुनै चुनाव लडेका छैनन् ।
काठमाडौं ६ मा नपाए हितमानलाई १० नम्बर क्षेत्रमा उठाउने तयारी भइरहेको माओवादी स्रोतले जनाएको छ ।
काठमाडौं क्षेत्र नम्बर ८ मा सरिता महर्जन, उमेश स्थापत, मुक्ति प्रधान, सर्वोत्तम डंगोल लगायतले दाबी गरेका छन् । त्यहाँ महिला नेतृ सरिताले टिकट पाउने सम्भावना रहेको छ ।
माओवादीले काठमाडौंमा तीनओटा प्रदेशसभा पाउँदैछ । तर, प्रदेशसभाको टुंगो लागेपछि मात्र उम्मेदवार टुंगो लगाइने भएको जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले बताए । काठमाडौं १० को ‘क’ मा भने दिलिप महर्जनको नाम टुंगो लागिसकेको छ ।