logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

धरौटीमा रिहा भए लगतै फेरी प्रकाउ परे विप्लवका गोरखा इन्चार्ज सेक्रेटरी


  • राजनीति
  • शुक्रबार, बैशाख २७ २०७६

गोरखा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई अदालतले रिहा गरे लगत्तै फेरि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुलाई अदालतले शुक्रबार पाँच-पाँच हजार रुपैयाँ धरौटी लिएर रिहा गरे गरे लगतै केही सोधपुछ गर्नुछ भन्दै प्रहरीले फेरि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो।

उनीहरुविरुद्ध प्रहरीमाथि आक्रमण गरी घाइते बनाएको र बम बिस्फोट सम्बन्धी दुईवटा मुद्दामा अनुसन्धानका लागि फेरि पक्राउ गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।

प्रहरीले उनीहरुलाई बैशाख २२ गते पक्राउ गरी राजद्रोहको मुद्दा चलाएको थियो। वैशाख २२ मा नियन्त्रणका क्रममा सेक्रेटरी भट्टले धकेल्दा एक प्रहरी घाइते भएका एसपी रावलले बताए। धकेलाधकेलका क्रममा भट्ट पनि घाइते भएका थिए।

यस्तै उनीहरुविरुद्ध बम विस्फोट सम्बन्धी उजूरी पनि दर्ता भएको एसपी रावलले बताए। जिल्ला अदालतबाट पक्राउ आदेश लिएर भट्ट र कुमाललाई पक्राउ गरिएको उनको भनाइ छ।

यसअघि विभिन्न मितिमा पक्राउ परेका सोही पार्टीका विष्णु रिजाल र अञ्जु कुमाल भने पाँच–पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। रिजाल विप्लव नेकपाका जिल्ला जनसरकार प्रमुख र कुमाल जिल्ला कमिटी सदस्य हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार