पोखरा- समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् ।पोखरामा भएको सभालाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो कुरा बताएका हुन् । ‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठुलो भूमिका रह्यो । अब काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्छ,’ उनले भने । जनताको समृद्धि र विकास गर्ने पार्टीको रुपमा नयाँ पार्टी आएको उल्लेख गर्दै उनले थपें, ‘अब, समाजवादी पार्टीले यसको नेतृत्व गर्छ ।’
फरक प्रसंगमा नेता भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाए । केपी शर्मा ओली नेतृत्वको सरकारलाई औल्याउँदै उनले भने, ‘उनीहरु नवसामन्त र महाराजा बनेका छन् । भ्रष्टाचार र कमिसनमा लिप्त छन्, नवधनाड्य बनेका छन् । जनताले विकल्पमा नयाँ राजनीतिक पार्टी खोजिरहेको छ ।’उनले भने।
यस्तै, कार्यक्रमका अन्य वक्ताहरुले समाजवादी पार्टी नेपाल राजनीतिमा नयाँ वैकल्पिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् । पोखराको सभागृह हलमा भएको कार्यक्रममा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, हिसिला यमि, अशोक राई लगायतका नेताको उपस्थिति थियो । यस्तै, प्रदेश नम्बर ४ लाई ‘तमुवान – मगरात’ नामाकरण गर्न माग राख्दै आएका गुरुङ, मगर समुदायको पनि बाक्लै उपस्थिति रहेको थियो ।
कार्यक्रमको आयोजकमा नै समाजवादी पार्टी र प्रदेश नम्बर ४ तमुवान– मगरात राखिएको थियो । यसअघि संसदमा तत्कालिन नयाँ शक्तिले प्रदेशको नाम गण्डकी नभई तमुवान – मगरात राख्न सुझाव दिएको थियो ।