राजनीति
पोखरा- समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संगठनात्मक हिसाबले हेर्दा दुई पार्टीको एकता मात्र देखिए पनि भावनात्मक हिसाबले हेर्दा हिमाल, पहाड, तराई, मधेसी, आदिवासी, जनजातिलगायत नेपालको सामाजिक संरचनालाई जोड्ने काम गरेको बताए । ‘संगठनात्मक हिसाबले पार्टीको एकता मात्र देखिए पनि यसले भावनात्मक रुपमा सिंगो नेपालको सामाजिक संरचनालाई जोड्न मद्दत गरेको छ,’ उनले भने ।
यसअघि पनि एकताको लागि प्रयास गरेको उनले सुनाए । गरीब, मधेसी, आदिवासी, जनजाति, सिमान्तकृत समुदाय थप अधिकार प्राप्तिका लागि संघर्षमा उत्रिनु पर्नेमा उनले जोड दिए । यस्तै सरकारले संविधान संशोधन नगरेमा सरकारबाट बाहिरिने समेत चेतावनी दिएका छन् ।
यस्तै, कार्यक्रमका अन्य वक्ताहरुले समाजवादी पार्टी नेपाल राजनीतिमा नयाँ वैकल्पिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् । पोखराको सभागृह हलमा भएको कार्यक्रममा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, हिसिला यमि, अशोक राई लगायतका नेताको उपस्थिति थियो । यस्तै, प्रदेश नम्बर ४ लाई ‘तमुवान – मगरात’ नामाकरण गर्न माग राख्दै आएका गुरुङ, मगर समुदायको पनि बाक्लै उपस्थिति रहेको थियो ।
कार्यक्रमको आयोजकमा नै समाजवादी पार्टी र प्रदेश नम्बर ४ तमुवान– मगरात राखिएको थियो । यसअघि संसदमा तत्कालिन नयाँ शक्तिले प्रदेशको नाम गण्डकी नभई तमुवान – मगरात राख्न सुझाव दिएको थियो ।