logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सरकारी सम्मानको सुचिमा विप्लवका सेकेन्ड म्यान देखी सरकार प्रमुख सम्म


  • राजनीति
  • सोमबार, जेष्ठ १३ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपालाइ सरकार आफैंले प्रतिबन्ध लगाएको छ । तर सोहि  नेताहरूलाई सरकारले सम्मानित गर्ने भएको छ । मुलुकमा गणतन्त्र स्थापना भएको अवसरमा मनाइनै गणतन्त्र दिवस १६ जेठमा नेकपाका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा प्रकाण्ड सहितका नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।

दुइ पटक मन्त्री समेत बनिसकेका  विश्वकर्मा २०६४ सालमा कालीकोट-१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै  अर्का नेता सन्तोषकुमार बुढा मगरले पनि संविधानसभा पदक पाउने भएका छन् । उनले २०६४ सालमा रोल्पा-२ बाट चुनाव बिजय हासिल गरेका थिए ।

पदककै सुचिमा नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मानित गर्ने भएको छ । उनी पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।

 

एक नम्बरमा राष्ट्रपति

हालै गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार विभूषण समारोह राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुँदैछ । संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याए बापत भन्दै उनीहरूलाई विभूषित गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

विभूषित हुनेहरुको पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीको नाम छ । यस्तै, दोस्रोमा प्रधानमन्त्री केपी शर्मा ओली, तेस्रोमा सभामुख कृष्णबहादुर महरा, चौथोमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पाँचौमा उपप्रधानमन्त्री उपेन्द्र यादवको नाम छ ।

त्यसपछि नौ जना पूर्वप्रधानमन्त्रीहरूको नाम राखिएको छ । जसमा क्रमशः लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालाको नाम छ ।

बहालवाला मन्त्री, मुख्य मन्त्री, पूर्व मन्त्रीदेखि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश गरी ४६ जनाको नाम वरियताअनुसार राखिएका छन् । त्यसपछिका नामहरू भने वर्णानुक्रममा छन् ।

जसको नाम छैन

पहिलो संविधान सभा २०६४ को सभा सदस्य रहेका गायत्री साह र विश्वनाथप्रसाद (बिपी) यादव भने सम्मानित हुने सूचीमा परेका छैनन् । उनीहरू कुटनीतिक राहदानीकाण्डमा परेका थिए । यादव नक्कली उपभोक्ता समिति बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रथम संविधानसभामा सप्तरी-२ बाट निर्वाचित जयप्रकाशप्रसाद गुप्ताको नाम पनि विभूषित हुने सूचीमा छैन । पूर्वमन्त्री समेत रहेका गुप्ता मन्त्री रहेकै बेलामा भ्रष्टाचारी ठहर भएर जेल चलान भएका थिए ।

दुवै संविधानसभामा सदस्य रहेका सञ्जयकुमार साह पनि संविधानसभा पदक पाउनेको सूचीमा छैनन् । साहलाई धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

साहलाई २०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा पाँच जनाको ज्यान लिएको विस्फोटको घटनामा अदालतले दोषी ठहर गरेको हो ।

अपहरणमा अदालतबाट दोषी ठहर भएका श्यामसुन्दर गुप्ताको नाम पनि यो सूचीमा छैन । रुपन्देहीका गुप्ता २०६४ मा समानुपातिक सभासद बनेका थिए ।

हाल नेकपा क्रान्तिकारी माओवादीका महासचिव तथा तत्कालिन एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्यको नाम पनि विभूषित हुनेको सूचीमा परेको छैन । तत्कालीन एनेकपा माओवादीबाट पहिलो संविधानसभामा समानुपातिक सदस्य रहेका उनले संविधानसभाको कार्यकाल नसकिदै पदबाट राजिनामा दिएका थिए । २०६५ कात्तिक २६ गते संविधानसभाको १२ औं बैठकले वैद्यको राजीनामा स्वीकृत गरेको थियो । उनको स्थानमा दाङका कुबेर ओलीलाई सभासद नियुक्त गरिएको थियो ।

भ्रष्टाचारीलाई पनि विभूषण !

सरकारले पदक दिन लागेका ११०९ जना मध्ये भ्रष्टाचारमा मुद्दा चलिरहेका र विवादित सभासदहरू पनि छन् । विभूषित हुनेको ५७८ नम्बरमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेको नाम छ ।

चुरे भावर हुँदै नेकपा केन्द्रीय सदस्य रहेका न्यौपाने विरुद्ध ३१ करोड भ्रष्टाचार गरेको अभियोग छ । उनीसँगै भ्रष्टाचारमा मुछिएका पूर्व मन्त्री टेकबहादुर गुरुङ्गलाई पनि सरकारले विभूषित गर्न लागेको छ ।

न्यौपाने र गुरुङ दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । न्यौपाने २०७५ चैत १३ गते ५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामाले पनि गणतन्त्र दिवसको अवसरमा पदक पाउने भएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा पनि मुद्दा चलाएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार