राजनीति
जनयुद्धकालीन घटनाबारे द्वन्द्वपीडितहरुले गुनासो पोख्दा माओवादी नेता श्रेष्ठको जवाफ हुन्छ- ‘म त माओवादी सशस्त्र द्वन्द्वमा सहभागी नै थिइनँ, त्यसैले त्यसको भागिदार म होइन ।’
सही नै हो, माओवादी जनयुद्ध चलिरहँदा श्रेष्ठ नेकपा एकताकेन्द्रका नेता थिए । जनयुद्ध सकिएर शान्ति प्रक्रिया सुरु भएपछि मात्रै उनको पार्टी माओवादीमा समाहित भएको हो ।
त्यसैगरी द्वन्द्वपीडितहरुलाई डा. भट्टराईको जवाफ हुने गरेको छ, ‘माओवाद मात्रै होइन, कम्युनिस्ट दर्शन नै अब असान्दर्भिक भइसक्यो, म त्यहाँबाट बाहिर निस्किइसकें ।’
सशस्त्र द्वन्द्वका क्रममा गोरखामा कांग्रेसका १८ जना कार्यकर्ता मारिएका थिए, माओवादीबाट । माओवादीको ‘सेकेन्ड इन कमान्ड’ का रुपमा त्यसको जस अपसज डा. भट्टराईलाई जानु स्वाभाविकै हो । शायद त्यस्तै घटनालाई सम्झेर हुनुपर्छ, पूर्वजिविस सभापति चन्द्रप्रसाद न्यौपानेसहितका नेता/कार्यकर्ताले डा. भट्टराईलाई भोट नदिने सार्वजनिक घोषणा नै गरेका छन् ।
र, यही जोखिम देखेर हुन सक्छ, डा. भट्टराईले गोरखा-२ मा प्रतिनिधिसभाका उम्मेदवारका आकांक्षी सुरेन्द्र पाण्डे, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलगायतका कांग्रेस नेतालाई आफ्नो चुनावी अभियानमा सँगै लैजान छुटाएका छैनन् । मेयर पन्त आफैं द्वन्द्वपीडित हुन् ।