logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाका पिबिएम ओम प्रकाश पुनले हिरासतमा हुदाँ लेखेको चर्चित लेख”केपी ओली यस्ता पात्र हुन”


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, जेष्ठ २४ २०७६

ओमप्रकाश पुन पोलिटव्युरो सदस्य नेकपा

काम एउटाले गर्ने र त्यसको जस अर्कोले पाउने भयो भने नेपाली समाजमा एउटा चर्चित भनाई रहेको छ, ‘लंका जित्ने हनुमान, पगरी गुथ्ने डेँढु’ । अझ अर्को भनाई पनि नेपाली साहित्यजगतमा चर्चित छ, जो अनुपयुक्त पात्रलाई बढी सम्मान दिइयो भने भन्ने गरिन्छ कि ‘भाङ्ग्राको टोपीमा गुयलीको फूल’ ।

वास्तवमा अहिले केपी ओलीको हकमा ठ्याक्कै त्यस्तै भएको छ । उयनी संयुक्त राष्ट्रसंघको ६३औं महासभालाई सम्बोधन गर्न जम्बो टोलीसहित दोस्रो जंगबहादुरको अवतारस्वरुप अमेरिका प्रस्थान गरेका थिए । फुर्सदिलो भ्रमणमा समयअगावै नेपालको अत्यासलाग्दो र चित्कारपूर्ण वातावरणबाट मुक्ति पाउन देश छोडेका केपी ओली अमेरिकामा केही दिन यता र उताको भाथ भान्सामा फुर्सदिलो समय बिताएर बसे र महासभामा नेपालका कथित शान्ति प्रक्रियाको मुख्य मसिहा नै म हुँ र नेपालमा अहिले सुखी र समृद्ध छ भन्ने बकमफुसे भाषण गरी विदेशीको आँखामा छारो हाल्ने काम गरे । केही विदेशी नेताहरुसहित अमेरिकाका सन्की राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोटा खिचेर सगरमाथाभन्दा उच्च हाइटको स्वाङ पार्दै घिरौला जत्रो नाक फुलाए । अझ त्योभन्दा पनि नौटङ्कीको गाइजात्रा त झन् भ्रमण तालिकामा नै नपरेको देश कोस्टारिकामा गएर देखाए । त्यो पनि नेपालमा शान्ति स्थापना र द्वन्द्व समाधानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कोस्टारिकाको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस)बाट मानार्थ विद्यावारिधीको उपाधि स्वीकार गरे । सायद यी कुरा सुनेर नेपालको राजनीतिक तथा बौद्धिक जगतको त कुरै छोडौं फुटपाथको सामान्य चिया पसल गर्ने व्यापारी र गाउँको सामान्य किसान समेत मज्जाले हाँस्छन् होला । केही समय अगाडि उनले भनेका थिए कि, म र मेरो सरकारको आलोचना गरी लेख लेख्ने बौद्धिकहरुको लेख पढेर उनकै घरका परिवार पनि हाँस्छन् होला । ठीक यस्तै केपी ओलीको कथित शान्ति प्रक्रियामा महात्वपूर्ण भूमिका खेलेको भनी पाएको मानार्थ विद्यावारिधीको उपाधी देखेर केटाकेटी पनि गलल हाँस्छन् होला । किनकि केपी ओली नेपाली राजनीतिका सबैभन्दा हास्य खलपात्र हुन् । उनको पञ्चायतविरोधी संघर्षमा १४ वर्ष जेल जीवन बिताएको बाहेक नेपाली राजनीतिमा भएको पछिल्लो आन्दोलनमा कुनै सकारात्मक भूमिका छैन । जसलाई निम्न तथ्यहरुले पुष्टि गर्दछ ।

पहिलोः केपी ओली २०४६ सालको सामान्य राजनीतिक परिवर्तनपछि लगातार सत्ता र रानीतिमा क्रियाशील व्यक्ति हुन् । उनी कहिले राजाको त कहिले भारतको आडभरोसामा शक्तिमा पुग्ने र यथास्थितिवादी र राष्ट्रघाती भूमिकामा रहने व्यक्ति हुने । राष्ट्रघाती महाकाली सन्धि गराउनेदेखि जनयुद्धको विरुद्ध भीषण दमन र सुराकी गर्ने गराउनेसम्मको भूमिकामा उनी सक्रिय रहेको व्यक्ति हुन् ।

दोस्रोः केपी ओली महान जनयुद्ध र २०६३-०६३ सालको जनआन्दोलनका घोरविरोधी थिए । जनआन्दोलन राजतन्त्रका विरुद्ध संगठित र यसले उत्कर्ष रुप लिँदै गर्दा आन्दोलनको बिचमा राजासँग मिल्नुपर्छ भनेर अभिव्यक्ति दिने र पछि राजतन्त्र अन्त्यको घोषणा गर्दा त्यसको विरोध गर्ने व्यक्ति हुन् उनी । सायद २०६४ सालको पहिलो संविधान सभामा केपी ओली विजय भएर आएको हुन्थ्यो भने संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गर्ने घोषणालाई प्रभावित पार्न सक्थे होला । किनकि जनयुद्धमा माओवादीले र जनआन्दोलनमा युवाहरुले गणतन्त्रको नारा लगाउँदा नेपालमा गणतन्त्र ल्याउँछौं भन्नु भनेको बयलगाडा चढेर अमेरिका जान्छु भने जस्तै हो भनेर ब्याङ्ग्य प्रहार गर्दै हिड्ने पात्र यिनै केपी ओली हुन् ।

तेस्रोः केपी ओली जनयुद्धका घोरविरोधी हुन् र १२ बुँदे समझ्दारीका पनि कट्टर विरोधी हुन् । कांग्रेस र राजासँग मिल्ने तर माओवादीसँग कुनैपनि हातलतमा सहकार्य नगर्ने पक्षमा दिए उनी र संविधानसभा र गणतन्त्रका घोरविरोधी हुन् उनी । बरु, तत्कालीन एमाले खेमाबाट जनयुद्धकालमा रोल्पासम्म गएर सात बुँदे सहमति गर्ने वामदेव गौतम र सिलगुढी हुँदै दिल्लीसम्म गएर १२ बुँदेमा हस्ताक्षर गर्ने माधव नेपाल तुलनात्मक रुपले नेपालाको अग्रगमन, शाहीकालीन दमन र द्वन्द्व व्यवस्थापनमा भूमिका खेल्ने व्यक्ति हुन् । जतिबेला केपी ओली यसको विपरीत धारमा थिए र एकहोरो रुपमा जनयुद्ध र माओवादी पार्टीको विरुद्ध धारे हात लगाउँथे ।

चौथोः पहिलो संविधान सभाबाट अग्रगामी संविधान बनाउने र शान्ति स्थापना गर्ने कार्यका विरुद्ध सदन बाहिरको मोर्चाबाट देशीविदेशी शक्तिको योजनामा हात धोएर लाग्ने पात्र हुन् केपी ओली । जसको विस्तृत व्याख्या पत्रकार सुधिर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ पुस्तकमा पनि गरिएको छ । माओवादी आन्दोलनलाई ‘बाँदरे प्रवृत्ति’को संज्ञा दिने, माओवादीसँग सहकार्यको कुरा गर्ने माधव नेपाललाई माओवादी प्रवक्ताको बिल्ला भिराउने, संघीयता, धर्म निरपेक्षाता र समानुपातिक समावेशिताको चरम विरोध गर्ने केपी ओली अहिले त्यसका नक्कली हिमायती बनेका छन्, जो सत्य होइन ।

पाचौंः कथित २०७० सालको दोस्रो संविधान सभापछि प्रतिगामी र प्रतिक्रान्तिकारी संविधान बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने पात्रमध्येका एक हुन् केपी ओली । महान दस वर्षे जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलनको मर्म र भावनाविपरीत पुरानै दलाल संसदीय व्यवस्थालाई पुनस्र्थापित र संस्थागत गर्ने संविधान निर्माण गरेर नेपालमा हाल अघोषित गृहयुद्ध चर्काउने कामको अगुवाई गर्ने पात्र केपी ओली नै हुन् । जसको परिणाम हाल देशमा भ्रष्टाचार, राष्ट्रघात, जनघात, महंगी, महिला हिंसा, हत्या, बलात्कारका घटना दिन दुई गुणा र रात चार गुणा बढेर गएका छन् । राष्ट्रघातको नमूनाको रुप अगाडि आएको छ । अहिले १ लाख ४७ हजार एक सय ८१ वर्ग किलोमिटर क्षेत्रफलको नेपाल खुम्चिएर १ लाख ३७ हजार एक सय ६२ वर्ग किलोमिटरमा झरेको नक्सा नापी कार्यालयमा टाँगिएको छ । वर्षमा बलात्कार, आत्महत्या र हत्याकाण्ड घटनाहरु करिब ३० हजारको हाराहारीमा पुग्ने गरेका छन् ।

युवाहरु विदेश पलायउन हुने क्रम बढ्दो छ । दशैंको मुखमा महंगी बढेर जनताको ढाड सेकिएको छ । धादिङको धार्केबाट काठमाडौं पुग्ने २५ किलोमिरटर बाटो पार गर्न गाडीलाई १० घण्टासम्म लाग्ने भएको छ । यो कुराले यो सरकारलाई छुँदैन । केपी ओलीको नेतृत्वमा सरकार बनेको आठौं महिना चलिरहँदा नौ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ र एक वर्षमा पेट्रोलियम पदार्थमा वैधानिक एक अर्बको चुहावट हुने तथ्यांक छ । अवैधानिक त झनै धेरै हुने अनुमान छ । शान्ति–सुरक्षा, जनताको मौलिक अधिकार र राजनीतिक स्वतन्त्रता सबै गुमेका छन् । जनतामा आमरुपमा निराशा छ । यसका प्रमुख हिस्सेदार मध्येका एक हुन केपी ओली ।

छैठौंः उल्लेखित समस्याहरुका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्ति अगाडि बढेको छ । त्यसबाट अत्तालिएर त्यस पार्टीका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, दमन गर्ने र झुठा मुद्दा लगाउने कार्य गर्दै आएको छ केपी ओली नेतृत्वको सामाजिक दलाल फासीवादी सरकारले । सदनमा त्यही पार्टीका वरिष्ठ नेताले सरकारका चर्को आलोचना गरेका छन् । पार्टीकै जिम्मेवार मुख्य मन्त्रीहरुले केपी ओलीले जे बोल्छ त्यसको उल्टो हुन्छ, मान्छेले पत्याउँदैनन्, हाँसोमा उडाउँछन् भनी टिप्पणी गर्दै हिँडेका छन् । केपी ओली भने आफ्नो विरोध गर्नेहरुका विरुद्ध पार्टीका नेता कार्यकर्तालाई अरिंगाल बनेर टोक्न आदेश दिन्छन् । महमा बस्ने माहुरीको संज्ञा दिएका उनका कार्यकर्ता भने जता खाना पाइयो उतै बस्ने झिंगा सावित भएका छन् । ‘जता काफल पाक्यो उतै चरी नाच्यो’ भनेझैं केपी ओली र उनका महिमा मण्डलीहरु आफ््नो व्यक्तिगत स्वार्थका देश र जनताका हितविपरीत नाचिरहेका छन् । यसका संचालनकर्ता हुन् केपी ओली ।

सातौंः यसकारणले देश नयाँ द्वन्द्व र संघर्षमा होमिरहेको बेला अशान्ति र हिंसा बढिरहेको बेला, केपी ओली भने साम्राज्यवादीहरुको रंगमञ्च संयुक्त राष्ट्रसंघको महासभामा नेपालमा शान्ति ल्याउने, माओवादीलाई ठीक पार्ने र संविधान निर्माण गरी चुनावमार्फत दुईतिहाईको सरकार बनाउने बहादुर मै हुँ जस्तो गर्दै संसारभरिका पूँजीवादीहरुको आँखामा छारो हाल्ने काम गरेका छन् । जंगबहादुर राणाले कुनैबेलाको बेलायत यात्रामा अंग्रेजीमा सत्यलाई ट्रुथ भन्नुपर्नेमा ‘की’ भन्दा सहयोगीले त्यसो हैन महाराज ‘की’ भनेको त ताला खोल्ने साँचो हो भनेका थिए । सत्य÷साँचो भन्नलाई त ट्रुथ भन्नुपर्छ भन्दा जंगे ने बोल्छ, त्यो सत्य हुन्छ भनेर जिद्दी गरेझैं त्यही जंगेका वर्तमान अवतार केपी ओली पनि आफ्नो वाणी मात्रै सत्य हो, अरु सबै झुठा र बेकुफ हुन् भन्दै हिँडेका छन् । कार्ल माक्र्सले जंगबहादुर राणालाई बेलायतको पाल्तु कुकुर भनेर आलोचना गरेका थिए । जंगबहादुर पनि बुद्धिभन्दा बल र घमण्डले चल्थे भने केपी पनि आफ्नो विचार र भिजन के हो ? भन्ने सवालमा दुई लाइन लेख्न नसक्ने तर रंगमञ्च पाएमा दुनियाँलाई उखान टुक्का हालीहाली घण्टौं गाली गर्ने र रम्ने पात्र हुन् । आफूले औपचारिक डिग्री हासिल गर्न नसकेको कुण्ठामा सक्कली वा नक्कली जुनसुकै प्रकार मानार्थ विद्यावारिधीका खोस्टाहरु बटुल्दै हिँड्ने । अनि उल्टै देश दुनियालाई अर्तिउपादेश दिँदै उल्लु बनाउने ।

यस्ता व्यक्तिलाई नेपालमा शान्ति स्थापना र द्वन्द्व समाधानमा विशिष्ट योगदान गरेपावत कोस्टारिकाको युनिभर्सिटी फर पिसले यही असोज १६ गते मंगलबार मानार्थ विद्यावारिधीको उपाधी दिनु लज्जास्पद कार्य हो । जसले नेपालको शान्ति प्रक्रिया र द्वन्द्व समाधानमा विशिष्ट योगदान हैन कि उल्टो भूमिका खेल्दै र बिगार्दै आएका छन् । द्वन्द्वका मुख्य पक्ष र एजेण्डालाई बेवास्ता गरिरहेका छन् । यसैकारण नयाँ द्वन्द्वको शुरुवात भएको छ । जसको पालामा नेपालमा नयाँ द्वन्द्व र संघर्ष शुरु भएको छ, यसैलाई शान्ति दूतको रुपमा सम्मान गर्नु भनेको लंका जित्ने ‘हनुमान पगरी गुथ्ने डेँढु’ भन्ने उखान चरितार्थ हुनु सरह हो । यस मामलामा केपी ओलीउनलाई सम्मान गर्ने देश कोस्टारिका र त्यहाँको शान्ति विश्वविद्यालय निकट भविष्यमै लज्जित हुनुपर्नेछ ।

२०७५-०६-१६ (दरबार प्रहरी वृत्त हिरासत, काठमाडौं)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार