राजनीति
सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले नेतृत्व तहमा नैतिकता स्खलित हुँदै गएको बताएका छन् ।
आज शनिबार ललितपुरमा प्रा.डा. रामप्रसाद पोखरेल कृति ‘आँखाका मणि’ विमोचन गर्न आयोजित कार्यक्रममा बोल्दै पोखरेलले व्यक्ति र पार्टीको नाम नखुलाई केन्द्रमा बस्नेहरुको इमान्दारिता स्खलित भएको उल्लेख गरे ।
नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री पोखरेलले भने–‘राजनीति क्षेत्रमा कतिसम्म नैतिकताको स्खलन हुँदो रहेछ भने जब त्यो नेतृत्व गर्ने समूहले आफूलाई केन्द्रमा राखेर निर्णय गर्न थाल्छ, हरेक कुराको हिसावकिताब खोज्छ । बाहिर देख्दा त त्यो भव्य देखिएला तर उसले इन्टिग्रिटी लुज गरेपछि त्यो स्खलित हुन्छ ।’
उनले अहिलेको चुनौति भनेको नेतृत्वमा रहेको इमान्दारिताको स्खलनलाई राख्नु रहेको बताए ।
उनले भने, ‘आफूलाई केन्द्रमा राखेर नीति निर्णय गर्ने, समूहलाई राखेर हैन । अहिले यस्तो प्रवृति बढ्दै गएको छ । म यो पार्टी त्यो पार्टी भन्दिन । सबै पार्टीमा अहिले नैतिकता स्खलित हुँदै गइरहेको छ । यो अवस्था रहुञ्जेलसम्म समाज परिवर्तन हुन सक्दैन ।’
उनले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै थपे–‘सत्ता अवसरवादले मानिसलाई यसरी नराम्रोसँग गाँजेको छ कि, यसले समाजलाई समेत असर पुर्याउँछ । यो पक्ष र त्यो पक्ष भनेर म भन्दिनँ तर त्यस्तो ठाउँमा हाम्रो खबरदारी गर्न आवश्यक छ ।’
कार्यक्रममा विमोचन गरिएको वरिष्ठ आँखा चिकित्सक प्रा.डा. रामप्रसाद पोखरेलको जीवनीमाथि बोल्दै मन्त्री पोखरेलले विभिन्न ठूला अवसर आएपनि त्यसलाई त्यागेर आफ्नै भूमिमा काम गर्ने इमान्दार व्यक्तित्व भएको टिप्पणी गरे ।
उनले मानिस भौतिक रुपमा सधैभरी नरहँदा पनि उसका बिचार कर्महरु सधैभरी रहने उल्लेख गर्दै डा. रामप्रसाल पोखरेल अहिले भौतिक रुपमा पनि रहेको र उनका विचारहरु प्रेरणादायी भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले डा.पोखरेलले नेपालको आँखा उपचारका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रसंशा गरे । उनले आफ्नो स्कुले जीवनमा आँखाको उपचार गर्न भारतको मोतिहारी जाने गरेको स्मरण गर्दैै अहिले डाक्टर रामप्रसादले स्थापना गरेको तराई क्षेत्रका आँखा अस्पतालमा भारतबाट हजारौंको संख्यामा आँखाका बिरामी उपचार गर्न आउने गरेको उल्लेख गरे ।
बिमोचित पुस्तकका बारेमा बोल्दै विभिन्न व्यक्तित्वहरुले डा. रामप्रसाद पोखरेलको प्रशंसा गरे । बेलायतमा डाक्टरी अध्ययन गरेर अमेरिकाको राम्रो अवसरलाई छोडी नेपालमा आँखा उपचारमा निरन्तर सेवा गरेको भन्दै बक्ताहरुले प्रशंसा गरेका थिए । नेपालमा पहिलो आँखा अस्पताल खोल्ने, विभिन्न जिल्लाहरुमा आँखा अस्पताल स्थापना र घुम्ति शिविरबाट निःशुल्क आँखाको उपचारमा उनले योगदान पु¥याएका थिए ।
२०२८ सालमा बेलायतबाट फर्केर उनले २०३१ सालमा गैरसरकारी तबरबाट त्रिपुरेश्वरमा आँखा अस्पताल स्थापनामा भूमिका खेलेका थिए । यस्तै २०३६ सालदेखि २०३८ सालसम्म अन्धोपन सम्बन्धी सर्वेक्षण गरेका थिए ।
उनको सक्रियतामा चौध अञ्चलमा आँखा अस्पताल सञ्चालन भएको छ । काठमाडौं बाहिर १८ वटा र काठमाडौंमा ४ आँखा अस्पताल स्थापना भएको छ । बिमोचित ग्रन्थमा डा. पोखरेलका जीवनका आरोह अवरोहका विभिन्न घटनाक्रम समेटिएका छन् ।
यस्तै कार्यक्रममा महायोगी अद्धैत पाइलटबाबा र पाइलटबाबा आश्रम नामक पुस्तकको समेत विमोचन गरिएको छ ।