राजनीति
पोखरा – कास्की प्रहरीले विप्लव निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का १८ जना नेता तथा पाटी कार्यकर्तालाई शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले नेकपाका १८ जना कार्यकता पक्राउ परेको जानकारी दिए। आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइने पनि उनले बताए।
विप्लव निकट नेकपाले भने अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमीटी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक भइरहेको बेलामा प्रहरीले कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित आमा समूहको घरमा घेरा हाली पक्राउ गरेको भन्दै आइतबार घटनाको भत्सना गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी विप्लवका जिल्ला संगठन समिति कास्कीका ईञ्चाज रुपेशले प्रेस विज्ञप्ति प्रकाशित गर्दै संविधानले नै निर्धारण गरेको परिधिमा रही संगठनको बैठक बसीरहेको अवस्थामा पक्राउ गरेको भन्दै भत्सना गरेका छन्।
विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी आक्रोश, अनेरास्ववियु (क्रान्तिकार) का केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो संयोजक मिलन राई, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष जिल्ला कमिटी कास्कीका काजी गुरुङ र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीका प्रकाश बस्तोला लगायत २२ जनालाई गिरफ्तार गरेको उल्लेख गरिएको छ।
संविधान विपरित पक्राउ पर्नु राजनीतिक स्वतन्त्रता हनन् भएको विज्ञप्तिमा उल्लेख गर्दै रुपेशले राजनीतिक स्वतन्त्रताको सुनिश्चिता र जनदमन नरोकेमा थप संघर्षमा जान बाध्य हुने बताए।
