राजनीति
नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले आठौ महाअधिबेशन सम्पन्न भइसकेको छ । आठौं महाधिबेशनले प्रतिबन्धित विप्लब नेतृत्वको नेकपालाई मित्र शक्तिको रुपमा विश्लेषण गरेको छ, भने सत्तारुढदल नेकपालाई अबसरबादी गैरकम्युनिष्टको रुपमा हेर्ने र विश्लेषण गरेको छ ।
सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने भएकाले माक्र्सवादी–लेनिनवादी पार्टीहरु क्रान्तिकारी माओवादी, नेकपा (विप्लब), नेपाल मजदुर किसान पार्टी, नेकपा (माले) र नेकपा आदिले निम्न पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने भएकाले तिनीहरू देशभक्त, जनतान्त्रिक, वामपन्थी तथा मित्र शक्तिहरू भएको जनाएको छ ।
यता सत्तारुढ दल नेकपालाई नेकपा (मसाल)ले कम्युनिस्ट नमान्ने बताएको छ । त्यसकारण पनि वर्तमान सरकारलाई कम्युनिस्ट सरकार नभएको बताएको छ । तर, नेकपाले निम्नपुँजीपति वर्गको प्रतिनिधित्व गर्ने भएको हुनाले त्यो संगठन र त्यसको नेतृत्वमा बनेको सरकारको चरित्र देशभक्त, जनतान्त्रिक र वामपन्थी प्रकारको छ ।
अन्तर्राष्ट्रिय परिस्थिति काे विश्लेषण
अन्तर्राष्ट्रिय परिस्थिति वा साम्राज्यवादका स्वरूपबारे नेकपा (मसाल)ले चीन र भारत दुवै देशहरू साम्राज्यवादी भएको निष्कर्षमा पुगेको छ । चीन पहिले समाजवादी देश थियो । तर, त्यहाँ प्रतिक्रान्ति भएपछि त्यो पुँजीवादी देशमा बदलिएको थियो । तर, अब त्यो साम्राज्यवादी देश बनिसकेको छ ।
भारतलाई मसालले पहिले विस्तारवादी देशको रूपमा नै विश्लेषण गर्दै आएको थियो । तर, एकातिर, त्यहाँ विस्तारवादले अरू उच्च र नाङ्गो रूप लिंदै गएकाले र अर्कातिर त्यहाँ एकाधिकार पुँजीवादको धेरै नै विकास भइसकेकाले त्यो साम्राज्यवादी देश बन्न पुगेको छ, नेकपा मसालले आफ्नो बिज्ञप्तिमा भनेको छ ।
भारत साम्राज्यवादी देश भएको हुनाले त्यसका विरुद्धको सङ्घर्षलाई अरू उच्च र व्यापक रूपमा बढाउनुपर्ने आवश्यकता रहेको विश्लेषण समेत गरेको छ ।त्यसरी भारतीय साम्राज्यवादका विरुद्धको सङ्घर्षमा जोड दिने बेलामा भारत वा त्यहाँका जनतासित मैत्रीपूर्ण सम्बन्ध बढाउनुपर्ने आवश्यकतामा पनि नेकपा (मसाल)ले सँधै जोड दिइराख्नुपर्ने आवश्यकतालाई पनि नजिर गरेको छ । त्यसका केहि कारण यसरि खुलाएको छ; कुनै पनि देशका जनता साम्राज्यवादी वा प्रतिक्रियावादी हुँदैनन् र त्यसैले कुनै देशका प्रतिक्रियावादी शासकहरूका विरुद्ध सङ्घर्षमा जोड दिए पनि त्यहाँका जनतासित घनिष्ट सम्बन्ध राख्ने र त्यहाँको प्रगतिशील वा क्रान्तिकारी आन्दोलनलाई समर्थन गर्ने हाम्रो नीति मात्र होइन, दायित्व पनि हुन्छ । यही सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्त हो । त्यही कुरा भारतका सन्दर्भमा पनि सत्य हो ।’’
‘‘चीन र भारत दुवै साम्राज्यवादी देशहरू भए पनि नेपालको विशिष्ट भूराजनीतिक अवस्थामा उनीहरूप्रति बेग्लाबेग्लै नीति अपनाउनुपर्ने आवश्यकता रहेको महाधिवेशनले निर्णय गरेको छ । चीन साम्राज्यवादी देश भएपनि त्यसले नेपालप्रति विस्तारवादी नीति अपनाउने गरेको छैन । त्यति मात्र होइन, भारतीय साम्राज्यवादले नेपालप्रति राजनीतिक वा आर्थिक रूपले गर्ने विभिन्न प्रकारका हस्तक्षेप, नाकाबन्दी वा नेपालको राष्ट्रियतामाथि गर्ने अतिक्रमण समेतका विरुद्ध उत्तरमा चीनको उपस्थिति वा त्यससितको मैत्रीपूर्ण सम्बन्धले नेपालका लागि सकारात्मक महत्व राख्दछ भन्ने निष्कर्ष निकाल्दै नेकपा मसालको आठौँ महाधिवेशन पुगेको छ ।
महाधिवेशनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध र भत्र्सना गर्ने निर्णय पनि गरेको छ ।
राष्ट्रिय परिस्थिति काे विश्लेषण
नेकपा (मसाल)को महाधिवेशनले देशको राजनीतिक स्थितिलाई विस्तृत गहन अध्ययन गरेको जनाएको छ । नेपालका राजनीतिक शक्तिहरूलाई मसालले तीन भागमा बाँडेर विश्लेषण गरेको छ ।
प्रथम, सर्वहारावर्गको प्रतिनिधित्व गर्ने पार्टी । द्वितीय, निम्न पुँजीपति वर्गहरूको प्रतिनिधित्व गर्ने राजनीतिक सङ्गठनहरू । तृतीय, सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गहरूको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी वा सङ्गठनहरू ।
त्यो विश्लेषणअनुसार प्रथम प्रकारको शक्ति देशको माक्र्सवादी–लेनिनवादी संगठन भएको र द्वितीय प्रकारका शक्तिहरू देशभक्त जनतान्त्रिक र वामपन्थी शक्तिहरू तथा मित्र शक्तिहरू भएको र तृतीय प्रकारका शक्तिहरू प्रतिक्रियावादी वा दुश्मन शक्तिहरू भएको सो पार्टीले जनाएको छ ।
दलहरुप्रति हेर्ने दृष्टिकोण
ने.क.पा. (मसाल)ले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने भएकाले यो माक्र्सवादी–लेनिनवादी पार्टी भएको र क्रान्तिकारी माओवादी, नेकपा (विप्लब), नेपाल मजदुर किसान पार्टी, नेकपा (माले) र नेकपा आदिले निम्न पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने भएकाले तिनीहरू देशभक्त, जनतान्त्रिक, वामपन्थी तथा मित्र शक्तिहरू भएको जनाएको छ ।
नेपाली कांग्रेस, राप्रपा, मधेशवादी आदिले प्रतिक्रियावादी वर्गहरूको प्रतिनिधित्व गर्ने भएकाले तिनीहरू प्रतिक्रियावादी र दुश्मन शक्तिहरू भएको जनाएको छ । तर, यी बेग्लाबेग्लै शक्तिहरूसित हाम्रो सम्बन्ध राजनीतिक स्थितिमा हुने परिवर्तनअनुसार निश्चित हुँदै जाने उल्लेख गर्दै सिंहले नेकपा आदि हाम्रा मित्र शक्तिहरू भए पनि आवश्यकतानुसार उनीहरूसित सङ्घर्ष गर्नुपर्ने तथा प्रतिक्रियावादी वा दुश्मन शक्तिहरूसित पनि एकता गर्नुपर्ने आवश्यकता हुने जनाएका छन् ।
तर, मित्र शक्तिहरूसित एकता र दुश्मन शक्तिहरूसित सङ्घर्षको पक्ष नै प्रधान हुने जनाउँदै सिंहले नेकपालाई मित्रशक्ति माने पनि त्यो ढुलमुल, अवसरवादी र सम्झौतापरस्त शक्ति नै हो भनेर पनि स्पष्ट गरेको जनाएका छन् ।
यस्तै महाधिवेशनले राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, जाति, धर्म र संस्कृतिसम्बन्धी प्रस्ताव तथा पूरक प्रस्तावसहित ६ वटा प्रस्तावहरू पास गरेको जनाइएको छ । महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनमा अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको विस्तृत रूपमा व्याख्या र विश्लेषण जारी वक्तव्यमा जनाइएको छ ।