logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्ड पुत्री रेणुलाई झड्का, मतपत्र काण्डमा अदालतको यस्तो फैसला


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०७६

चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मतगणनाका बेला मतपत्र च्यात्ने तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वय मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई जिल्ला अदालत चितवनले दोषी ठहर गरेको छ ।

अदालतको फैसलासँगै चुनाव जित्न कार्यकर्तालाई आपराधिक गतिविधि गर्न लगाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी पुत्री मेयर रेणु दाहाललाई ठूलो झड्का लागेको छ ।

चितवन जिल्ला अदालतले बिहीबार गरेको सुनुवाइपछि न्यौपाने र शिवाकोटीलाई दोषी मानेको हो । असार ५ गते कारवाही फौसला गर्ने गरी उनीहरूलाई दोषी ठहर गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताए ।

माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेकी प्रचण्डकी माइली छोरी रेणु दाहालले एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीसँग पराजित हुने भएपछि आत्तिएका न्यौपाने र शिवाकोटीले मतपत्र च्यातेर भाँडभैलो मच्चाएका थिए । सोही कारण मतपत्र च्यातिएको एउटा वडाको पुनः मतदान गरिएको थियो । मेयरमा जित्दै गरेका एमालेका देवी ज्ञवाली मतपत्र च्यातिएको काण्डपछि पराजित भएका थिए ।

चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपाने र शिवाकोटीलाई कसुरदार ठहर हुने गरी आदेश दिएको श्रेस्तेदार गिरीले बताए । शिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपियाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग गरेको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग भएको अधिवक्ता देवकोटाले बताए । मुद्दा दर्ता भएर थुनछेक आदेश भएको दुई वर्षपछि चितवन जिल्ला अदालतले भरतपुर महानगरपालिकाको मतपत्र च्यातेको काण्डको बिहीबार मुद्दामा पहिलो पटक बहस भएको थियो ।

यसअघि २४ औं पटकसम्म पेशी तोकेपनि स्थगित हुँदै आएको थियो । शिवाकोटी र न्यौपानेविरुद्ध ०७४ सालको जेठ १७ गते मुद्दा दायर भएको थियो । सामान्यतया मुद्दा दायर भएको दुई वर्षभित्रै फैसला आउँछ । तर यो मुद्दामा त्यो समय पार भएको छ ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा ०७४ सालको जेठ १५ गते मध्यराति माओवादी केन्द्रका कार्यकर्ता शिवाकोटी र न्यौपानेले मतपत्रहरू च्यातिदिएका थिए । कुल २९ वटा वडाहरू रहेको भरतपुरमा वडा नम्बर १९ को मत गनेर सकिनै लाग्दा रेणु दाहाल पराजित हुने निश्चित जस्तै भएपछि यी धुन्दुकारीहरूले मतपत्र च्यातेका थिए । २० नम्बर वडाको मात्रै मत गणना गर्न बाँकी थियो ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा फेरि मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । मतदानको विषयमा सर्वोच्च अदालतले नै टुंगो लगाएको थियो ।

चितवन जिल्ला अदालतबाट भएको यो आदेशले निर्वाचन परिणाम कुनै असर पर्दैन । यो मतपत्र च्यातेको अपराध विरुद्धको मुद्दा मात्र हो । शिवाकोटी र न्यौपाने दोषी ठहर भए पनि रेणु दाहालको मेयर पद भने सुरक्षित रहेको जनाइएको छ ।

मतपत्र च्यातिएको काण्डमा जिल्ला अदालत चितवनले ढिलै भएपनि न्यौपाने र शिवाकोटीलाई सजाय दिएर न्याय गरेको सरकार पक्षका कानून व्यवसायीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार