logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

तनहुँबाट पाखा लागे रामचन्द्र पौडेल,वाम गठबन्धनको ‘क्लिन स्विप’


  • राजनीति
  • आइतबार, मंसिर २४ २०७४

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पौडेलका प्रतिस्पर्धी थिए, किसान श्रेष्ठ । करिव ४५ सय मतले पराजित श्रेष्ठले यो पटक बदला लिएका छन् ।

७४ बर्षीय पौडेलले आफुलाई भावी प्रधानमन्त्री र पार्टी प्रमुखको दावेदारका रुपमा प्रस्तुत गर्दै आएका थिए । तर, उनको हारसँगै प्रधानमन्त्रीको दाबेदारी अन्त्य भयो । पौडेलको पराजयका विभिन्न कारणहरु छन् ।  आफ्नै सहकर्मी गोविन्दराज जोशीसँगको उनको कटुतापूर्ण सम्वन्धले पौडेलको राजनीतिक छविलाई क्षयिकरण गरेको देखिन्छ । २ वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश क्षेत्र रहेको तनहुँमा कांग्रेस क्लिन स्वीप भएको छ । तनहुँको साविक निर्वाचन क्षेत्र नः ३ बाहेक क्षेत्र १ र २ कांग्रेसले २०४८ सालदेखि लगातार जस्तो जित्दै आएको थियो । तर, यसपटक कांग्रेसले सवै गुमाएको छ । क्षेत्र नः २ बाट एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल विजयी भए । उनले पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीलाई ३२ सयभन्दा बढि मतान्तरमा पराजित गरे ।

कांग्रेसका युवा नेता प्रदिप पौडेल तनहुँ निर्वाचन क्षेत्र नः २ को प्रदेश क्षेत्र ‘क’ मा माओवादी नेतृ आशा कोइरालासँग ५ मतको झिनो अन्तरले पराजित भए। यद्यपि उनले केही ठाउँको पुनः मतदान गर्न माग गर्दै निवेदन दिएका छन् ।

अर्का नेता धुव बाग्ले एमालेका किरण गुरुङसँग पराजित हुँदा बौद्धिक नेताको छवि बनाएका नेता गोविन्द भट्टराई तनहुँ निर्वाचन क्षेत्र नः १ को प्रदेश क्षेत्र ‘क’ मा एमाले नेता रामबहादुर गुरूङसँग १३ सय ८७ मतले पराजित बने ।

तनहुँको क्षेत्र नः १ को प्रदेश क्षेत्र ‘ख’ मा माओवादी केन्द्रका हरिबहादुर चुमानले जित्दा कांग्रेस तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेल पराजित बने । चुमान र पौडेल वीचको जितको अन्तर ३४ सय ८९ छ ।

कांग्रेसले तनहुँ क्षेत्र नः २ को प्रदेश क्षेत्र ‘क’ र क्षेत्र नः १ को प्रदेश क्षेत्र ‘क’ न्यूनत्तम जित्ने अनुमान गरेको थियो । तर दुवै क्षेत्रमा भएको पराजयले कांग्रेस तनहुँमा रक्षात्मक बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार