काठमाडौ । फेसबुकमा सरकारविरुद्ध स्ट्याटस लेखेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन विजय लामालाई जापान भम्रणको टोलीबाट हटाएका छन् ।
निगमका अनुसार, आउँदो भदौ १२ गतेदेखी जापानको ओशाका उडानको तयारी गरिरहेको निगमको टोलीमा पाइलट लामासहित तीन सदस्य सोमबार बैंकक हुँदै जापान जाने कार्यक्रम थियो। थाई एयरवेजको उडानबाट निगमका कार्यकारी अध्यक्ष खरेलसहित, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामा त्यसतर्फ जान लागेका थिए।
निगमका एक उच्च अधिकारीका अनुसार, तीनै जनाको होटल बुकिङ र टिकट पनि भइसकेको थियो। कार्यक्रम एक साता लामो थियो। तर, पाइलट लामाले आफ्नो फेसबुक पेजमा सरकारले ल्याएको गुठी विधेयक विरुद्ध स्ट्याटस लेखेपछि उनलाई टोलीबाट हटाइएको निगमको उच्च स्रोतले कान्तिपुरलाई बतायो।
यस्तो थियो विजय लामाको पोस्ट
गुठी बिधेयकले तताएको छ नेपाल! यो बिधेयकले प्रश्न उठाएको छ सरकारको काम, कदम र ब्यवहार माथी! नेवार समुदाय मात्र नभएर सम्पुर्ण अन्य समुदायहरुलाइ पनि आतन्कित बनाउन थाली सकेको छ केही समय देखि यो सरकारको काम गतिबिधीले!
२/३ को सरकार हो भनेर जनतालाई पेलेर जान्छौ अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बडेको त होइन? त्यस्तो चाहिँ नहोस पनि किनकी जुन दिन नेपाली जनताले सडकमा उत्रेर एक स्वोरमा बिरोध गर्छन त्यति बेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलाइ!
नेवा समुदाय र अन्य समुदाय ज जस्ले नेपालको कला संस्कृति र सम्पदालाई सम्हालेर/समरक्षण गरि राखेका छन, …वहाहरुलाइ हामी सबैको साथ छ! काधमा काध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिने छौ! तपाइहरु एक्लो हुनुहुन्न, सम्पुर्ण नेपाली परिवार तपाइहरुको साथमा छ!
त्यसैले फिर्ता लिउ, खारिज गर यो गुठी बिधेयक यदि कला, सम्पदा र संस्कृतिको जगेर्णा गरेर राख्ने हो भने! देशमा शान्ति ल्याउने हो भने!
जय चन्द्र सुर्य!!
-कान्तिपुरबाट