logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कांग्रेसी वडाध्यक्षले च्याते पोखरा महानगरको रातो किताब,एक वडाध्यक्षले टेबुल नै उचालेर फालिदिए


  • राजनीति
  • बिहिबार, असार १२ २०७६

वाशुदेव मिश्र ,पोखरा- -नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले योजना र बजेट समेटिएको पोखरा महानगरको ‘रातो किताब’ नै च्यातिदिएका छन्।

आर्थिक वर्ष २०७६०७७ को लागि महानगरले प्रस्तुत गरेको बजेटबारेको छलफलको क्रममा ‘योजना निर्माण र बजेट विनियोजनमा कांग्रेसले चुनाव जितेका वडाहरुलाई विभेद गरिएको’ दावी गर्दै उनीहरुले रातो किताब च्यातेका हुन्।

कांग्रेसवाट निर्वाचित वडाध्यक्षहरुको बिरोधका कारण पाँचौँ नगरसभाको दोस्रो दिन बुधबारको बैठक केही तनावपूर्ण समेत बन्यो। नगरसभाको क्रममा कांग्रेसका एक वडाध्यक्षले सभास्थलमा रहेको टेबुल नै उचालेर पालिदिए।

उता, कांग्रेसी वडाध्यक्षहरुको बिरोधका बावजुद नगरसभाबाट बजेट बहुमतले पारित भएको घोषणा गरियो। पोखरा महानगरका ११ वटा वडामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रहेका छन्।

महानगरका प्रतिपक्षी दलका नेता तथा वडा नम्बर ९ का वडाध्यक्ष रामराज रेग्मीले बजेटमा सबै योजनाहरु केन्द्रिकृत गरिएको र कांग्रेसले जितेका वडाहरुमा कम बजेट विनियोजनको बिरोध गर्दै आफूहरुले रातो किताब च्यातेको स्वीकारे। ‘हामीले योजना केन्द्रिकृत नगर्नुहोस् र भेदभाव गर्न हुँदैन भनेर पटक–पटक आग्रह गर्यौँँ’, उनले भने,‘ भेटमा उहाँ ( मेयर मानबहादुर जिसी) ले त्यसै हुन्छ भन्नुभयो तर बजेटमा विभेद गरियो।’

योजना छनौट र बजेट विनियोजन गर्दा समानुपातिक बाँडफाँड नभएकोमा नेकपाका वडाध्यक्षहरु पनि असन्तुष्ट रहेको बताउँदै उनले चुनावकै कुरा सम्झेर बजेट आउनु दुखद भएको बताए।

रातो किताब नभई सभा चल्न दिन्नौँ भन्दै विरोधमा उत्रिएका कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको माग अनुसार बुधबार करिब ३ बजेतिरमात्र रातो किताब वडाध्यक्षहरुको हातमा परेको थियो। रातो किताब आएको एक घण्टापछि बसेको बैठकमा विपक्षी दलका नेतालाई बोल्न दिने सहमति भए पनि सो समेत तोडिएको र बहुमतको आडमा पेलेर अगाडि जान खोजिएपछि बाध्य भएर आफूहरुले नाराबाजी गरेको पनि उनले जिकिर गरे।

आफूहरुको बिरोधका बीच बजेट पारित भएको घोषणा गरिएसँगै मेयरले ‘योजना लिएर म कहाँ आउलान नि !’ भन्दै धम्क्याएको आरोप पनि लगाए। ‘जनताले तिरेको करबाट नै योजनाहरुलाई पैसा दिने हो, बजेट मेयरले गोजीबाट झिकेर दिने होइन’, उनले भने,‘ कुरै गर्नेै हो भने महानगरको करिब ७५ प्रतिशत राजश्व कांग्रेसी वडाध्यक्ष रहेको ठाउँबाट उठ्छ।’

उनले मेयरले आफ्नो भनाई फिर्ता लिन माग गर्दै बोली र बजेट नसच्याएसम्म आन्दोलन गर्ने जानकारी पनि दिए। आन्दोलनकै क्रममा बिहीबार महानगरको कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको पनि उनले सुनाए। महानगरले मंगलबार आर्थिक वर्ष २०७६०७७ को लागि ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार