पुर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गरेका छन् ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक हत्या प्रतिहत्याका दोषीलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताएका हुन् ।
उहाको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भएपनि आजसम्म हत्यारा किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोली पनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत उनले गरे ।
हाम्रो देश नेपालको इतिहासमा उच्च राजनीतिक हत्या प्रतिहत्याका भयानक र लामो श्रृंखला भएको उल्लेख गर्दे उनले ठूला–ठूला राजनीतिक हत्या प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिलेसम्म सफल हुन नसकेको बताए ।
मदन भण्डारी हत्या, उहाँका चालकको हत्या अनि दरबारहत्याकाण्ड भईसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको तर्फ गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘पहिलोचोटी प्रधानमन्त्री भएको बेला नारायणहिटीको अगाडि उभिएर भने यसको पत्ता लाई छोडिन्छ तर पत्ता लगाउन सकिएन । के ले दिँदैन हामीलाई ? जनताले नदिएको त पक्कै होइन । हामी अहिले सरकारमा छौँ । सरकारको नेतृत्व गरेका छौँ तर भन्न सक्ने ठाउँमा छैनौँ । बरु यसलाई त्यसै त्यसै ढिला हुन दिउँ त्यसै ठिक हुन्छ भन्या जस्तो अवस्था हाम्रो छ । कमरेड मदन भण्डारीको रहस्यमय अवसान किन भयो र भोली त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी हामीले किन गर्न सकिराखेका छैनौँ मेरो प्वाईन्ट त्यहाँनिर हो ।’
उनले राजाविरुद्ध बोल्न सक्ने र वैदेशिक प्रतिक्रियावादीलाई पनि ठाडठाडै लल्कार्न सक्ने हैसियत राख्न सक्ने नेता पनि भएकाले प्रतिक्रियावादीहरुले हत्याको डिजाईन गरेको हो भनेर बुझ्न गाह्रो नभएपनि हत्यारा पत्ता लगाउन नसक्दा भविष्यमा पनि त्यस्ता घटना हुन सक्ने आंशका गरे ।
उनले भने, ‘तपाई हामी यसलाई मदन भण्डारीको महानता ठान्छौ कि ? कमजोरी ? कमरेड मदन भण्डारीको देशभक्ति, उद्देश्यप्रतिको निष्ठा र प्रतिक्रियावादीहरु प्रतिको उहाँको वर्ग दृष्टिकोण हो त्यो । त्यस अर्थमा उहाँ महान हुनुहुन्थ्यो भनेर नै हामी भन्छौ । त्यसो भन्छौ भने कहिलेकाहीँ मलाई चिन्ता लाग्ने कुरो के हो भने हामी आजभोली आफ्नो छाला बचाउन तिर लाग्नेमा त छैनौ कतै ? भाषा नरम गरेर नरिसाउन प्रतिक्रियावादी भन्ने तिर पो जान लागेका त छैनौ ? हामी मारिएका छैनौँ अहिलेसम्म । मारिन पनि सक्छौ । यहा विचारणीय छ ।’
उनले जनताका आकांक्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुलाई सन्तुलन राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामुहिक मेहनत नभए दुई नेता (ओली–प्रचण्ड) असफल हुने खतरातर्फ जान सक्ने संकेत गरे ।
पार्टी सुदृढ गर्दै सरकारलाई सफल पार्ने र जनआकांक्षालाई सम्बोधन गर्ने विषयमा असफल भए दुई नेताको मात्रै असफलता नहुने भन्दै उनले त्यसले सिंगो मुलुकको प्रणालीनै खतरामा पर्ने संकेत गरे ।
उनले भने, ‘दुई नेताको मात्रै असफलता हुनेवाला छैन । त्यो नेकपाको मात्रै असफलता हुनेवाला छैन । पार्टी एकता गरेर असफल भईसकेपछि कम्युनिष्ट आन्दोलन फेरी यही रुपमा उठ्न सायदै सम्भव हुन्छ । सिध्यियो भने दुईटै एकैचोटी । अब यो पार्टी मात्रै सकिएर कांग्रेस छँदैछ नि कांग्रेसले लिड गर्ला भन्ने स्थिति पनि नेपालमा अब छैन । कांग्रेसले कम्युनिष्ट पार्टी झगडा गरिदिए देखि हाम्रो पालो आउँथ्यो भनेर सोच्दै नसोचे हुन्छ । हुनेवाला यो सिस्टम पनि जानेवाला छ र देशको एकता पनि खतरामा पर्नेवाला छ ।’
उनले सबैखाले पुर्वाग्रह र संकिर्णता माथि विजय हासिल गर्दै देश काल परिस्थितिको माग अनुसार मिल्न सक्ने जति सबै मिलाएर अघि बढ्ने संकल्प गर्नुपर्ने र यही पाठ नै मदन भण्डारीबाट सिक्नुपर्ने बताए ।