राजनीति
भारतीय फिल्मी क्षेत्रको बिकाश सम्वर्धन र सम्मानका लागी आयोजना गरिने आइफा अवार्डमा नेपाल सरकारको ठूलो खर्च गरेर आफै आयोजक बन्न लागेको भन्दै सर्वत्र बिरोध भएको छ । इन्टरनेसनल इण्डिया फिल्म अवार्ड (आईफा) आयोजना गर्न लागिएकोमा सत्तारूढ विद्यार्थी संगठन अनेरास्ववियू भित्रै पनि विरोध शुरु भएको छ।
अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले नेपालको एक अर्ब रुपैयाँ लगानीमा आईफा आयोजना गर्ने सरकारको निर्णय सुन्दा आफूलाई आश्चर्य लागेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा तामाङले लेखेका छन् -‘आईफा अवार्ड नेपालमा गर्ने निर्णय ठिकै छ, तर सो कार्यक्रमको खर्च उनिहरुले नै ब्यहोर्नु पर्छ। नेपाल सरकारले अर्बौ खर्च ब्यहोर्नु हुदैन। हामीले ऋतिक रोसन काण्ड पनि त भुलेका छैनौ।’
नेपाली चलचित्रको विकास र प्रवर्धनमा सरकारको यथेष्ट चासो नपुगी रहेका बेला भारतीय कार्यक्रमका लागि नेपाली नागरिकबाट संकलन भएको ठूलो रकम खर्चिएर कार्यक्रम गर्न लागिएको प्रति सत्तारुढ अनेरास्ववियूका नेताहरु मात्र होइन चलचित्र क्षेत्रबाट समेत आलोचना शुरु भएको छ।