logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माघ २४ गते नै देउवाले किन रोजे राष्ट्रियसभा निर्वाचन ? देउवा–ज्योतिषी कनेक्सन


  • राजनीति
  • आइतबार, पुष २३ २०७४

राष्ट्रियसभा निर्वाचन नतोकेको भन्दै वाम गठबन्धनका दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिइरहेका थिए । एमालेले देउवामाथि सत्ता लम्ब्याउने चालबाजीको आरोप लगाइरहेको थियो । माघ १० भित्रै राष्ट्रियसभा निर्वाचन गर्न उसको दबाब थियो । तर, देउवाले दुई हप्ता पर अर्थात् माघ २४ गतेका लागि निर्वाचन मिति तोके ।

माघ २४ गते नै देउवाले किन रोजे ? त्यसभन्दा अगाडिको कुनै दिन निर्वाचनको मिति किन तोकेनन् ? यो जिज्ञाशाको यथार्थ हो, ज्योतिषीको सल्लाह ।

वाम गठबन्धनको चर्को दबाबपछि उनी राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निष्कर्षमा पुगे । हिजो (शुक्रबार) साँझका लागि मन्त्रिपरिषद् बैठक आव्हान गरिसकेपछि उनी उत्तम साइतका लागि ज्योतिषीको सहयोग लिन पुगे ।

बालुवाटार स्रोतका अनुसार दिउँसो प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले ज्योतिषीलाई फोन लगाए । उनले सीधै सोधे, ‘गुरु, राष्ट्रियसभा निर्वाचनका लागि कुन साइत उत्तम होला ?’

गुरुले जवाफ दिए, ‘एक्कैछिन है, एकपटक राम्रैसँग हेर्नुपर्छ । केही समयपछि फोन गर्नुस् ।’

प्रधानमन्त्रीकै आग्रहमा स्वकीय सचिव भानु देउवाले ज्योतिषी ओजराज उपाध्याय लोहनीसँग राष्ट्रियसभा निर्वाचनको उत्तम साइत मागेका थिए । ज्योतिषी लोहनीले तत्काल अरु काम छाडेर निर्वाचनको साइत जुराउनतिर लागे ।

ज्योतिषी ओजराज उपाध्याय लोहनी
केहीबेरपछि फेरि भानु देउवाको फोन आयो । ओजराजले भनिदिए, ‘माघ २४ जत्तिको उत्तम साइट तत्काल अरु देखिँदैन । यही दिन गर्दा राम्रो हुन्छ ।’

बालुवाटार स्रोतका अनुसार ज्योतिषीले दिएको सुझाव भानुले प्रधानमन्त्रीलाई सुनाए । साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्योतिषीले भनेअनुसारै माघ २४ मै राष्ट्रियसभा निर्वाचन गर्ने मिति घोषणा गर्यो ।

निर्वाचन आयोगले सरकारसँगको परामर्शमा माघ २५ गतेका लागि निर्वाचन मिति तोक्न सुझाव दिएको थियो । तर, देउवाले ज्योतिषको सुझावलाई महत्वपूर्ण माने ।

प्रधानमन्त्री देउवा ज्योतिष विज्ञानमा निकै विश्वास गर्छन् । प्रतिनिधिसभा निर्वाचनका क्रममा उनले सार्वजनिक रुपमै भनेका थिए, ‘ज्योतिषीले मलाई फेरि चुनाव जितेर सातपटकसम्म प्रधानमन्त्री हुन्छौ भनेको छ ।’ यसअघि पनि उनले बिभिन्न निर्णयमा ज्योतिषीको सल्लाह लिने गरेका छन् । ओजराज लोहनी देउवाका विश्वासिला ज्योतषीमध्ये एक हुन् । तर, उनले देउवा सातचोटी प्रधानमन्त्री नबन्ने बताउँदै आएका छन् ।

लोहनीले यसअघि पनि बिभिन्न राजनीतिक भविश्यवाणी गर्दै आएका छन् । उनी नेताहरुको राजनीतिक भविश्यवाणी पनि गर्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार