logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्लाही काण्ड : बादलको खुलासा ,जनप्रतिनिधिको सुराकीमा केन्द्रीय टोलीले गोली हान्यो


  • राजनीति
  • मंगलबार, असार २४ २०७६

सर्लाहीमा प्रहरीको गोली लागेर हत्या गरिएका विद्रोही नेकपाका नेता कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा मारिएको गृहमन्त्री रामबहादुर थापाले खुलासा गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा संसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल कसरी मारिए भन्ने बताए । सो क्रममा उनले कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा कारवाहीमा परेको भन्ने भाषा प्रयोग गरे । उनले प्रष्ट रुपमा भने, ‘लोकतन्त्र र कानुनी शासनको प्रत्याभूति दिन लाग्दा भएको घटना भएको हो । सर्लाहीमा जनप्रतिनिधिकै माग अनुसार कारबाही भएको हो ।’

यसअघि कुमार पौडेलका आफन्तले सर्लाहीका केही जनप्रतिनिधिले हत्या गराएको दावी गरेका थिए । उनीहरुले हत्या गराउनेहरु थाहा भइसकेको बताउदै उनीहरुमाथि कारवाही गर्न पनि माग गरेका थिए । परिवारको उक्त दावीलाई गृहमन्त्रीले संसदमा आधिकारिक रुपमा बोलेर पुष्टि गरेका हुन् । यसबाट पौडेललाई हत्या गराउन स्थानीय जनप्रतिनिधि लागेको परिवारको आरोप प्रमाणित भएको छ । साथै यसले १० वर्षे जनयुद्ध कालकै झल्को दिएको छ । जनयुद्धकालमा पनि कतिपय जनप्रतिनिधिहरु तत्कालीन नेकपा (माओवादी)का नेता, कार्यकर्ता र शुभचिन्तकहरुलाई पक्राउ गराउन सुराकीको भूमिका निर्वाह गरेको आरोप लाग्ने गरेको थियो । त्यतिबेलाको जनयुद्धको प्रमुख नेताहरु मध्ये एक रहेका रामबहादुर थापा बादल अहिले गृहमन्त्री छन् ।

मंगलबार गृहमन्त्री थापाले प्रयोग गरेको भाषाले धेरैजनाले अनौठो मानेका छन् । पौडेललाई स्थानीय जनप्रतिनिधिकै आग्रहमा कारवाही गरिएको हो भनेर गृहमन्त्रीले संसदमा बोल्नु निकै गम्भीर विषय हो । यसबाट पौडेल मारिनुमा को को स्थानीय जनप्रतिनिधिको कस्तो हात थियो वा थिएन भन्ने प्रश्न समेत उठेको छ । के पौडेलका आफन्तले दावी गरेजस्तै र सोही आरोप पुष्टि हुनेगरी गृहमन्त्रीले संसदमा जवाफ दिएजस्तै कोही स्थानीय जनप्रतिनिधि उनलाई पक्राउ गराउन वा हत्या नै गराउन लागेको भए यसले गम्भीर सामाजिक द्वन्द्वलाई संकेत गर्दछ ।

साथै गृहमन्त्रीको यो जवाफले सर्लाहीका जनप्रतिनिधिहरु समेत असुरक्षित बन्न सक्ने सम्भावना रहन्छ । परिवारको आरोप मात्र नभई गृहमन्त्रीले समेत पुष्टि गरिदिएपछि अर्को पक्षले ती जनप्रतिनिधिहरुमाथि कस्तो व्यवहार गर्छन भन्ने प्रश्न पनि आउछ । साथै ती जनप्रतिनिधिहरु आफ्नो ठाउँमा कसरी काम गर्न सक्छन भन्ने प्रश्न पनि उठछ । यदि काेही कसैले जानेर नजानेर त्यस्ताे केही गरेकाे भए पनि गृहमन्त्रीले त्यसलाइ किन खुलासा गरे भन्ने प्रश्न पनि गम्भीर छ । अर्काे प्रश्न पनि उठछ कि के गृहमन्त्रीले ती स्थानीय जनप्रतिनिधिहरुलाइ एक्सपाेज गर्न खाेजेकाे हुन् त? त्यसरी उनकाे के स्वार्थ पूरा हुन्छ ?

त्यसैगरी गृहमन्त्रीले अर्को गम्भीर सैद्धान्तिक कुरा पनि आफ्नो जवाफको क्रममा उल्लेख गरे । उनले संसदमा बोल्दै भने, ‘लोकतन्त्र र कानुनी शासनको प्रत्याभूति दिन कुमार पौडेल मारिएका हुन् ।” त्यसो भए के लोकतन्त्र र कानुनी शासनको प्रत्याभूति दिन मान्छे मार्नुपर्ने हो ? के मान्छे मारेर लोकतन्त्रको रक्षा हुने हो ? यो निकै गम्भीर प्रश्न हो ।

आफ्नो जवाफमा गृहमन्त्री थापाले कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको दावी गरे । तर, उनको यो दावीमाथि यसअघि नै सांसदहरुले प्रश्न उठाइसकेका हुन् । प्रहरीले नै पौडेल मारिदा ३ जना मात्र भएको बताइसकेको छ । ती व्यक्ति पनि फायरिङ गर्दै मोटरसाइकलमा भागेको गृहमन्त्रीले संसदमै जानकारी दिइसकेका छन् । यहाँनेर मोटरसाइकलमा भाग्नेले कसरी दोहोरो भिडन्त गरेको होला भन्ने प्रश्न पनि छ । यद्यपि ती २ जना को हुन भन्ने कुरा पनि प्रहरीले भन्न सकेको छैन । यसबाट त्यहाँ भिडन्त भएको हो भन्ने कुनै आधार देखिदैन ।

कुमार पौडेल मारिनुभन्दा केही दिन अघिदेखि नै प्रहरीको केन्द्रीय टोली सर्लाहीमा खटिएको भने थाहा भइसकेको छ । साथै उनका दुबै हात भाँचिएको फोटो समेत आइसकेको छ । सार्वजनिक भएका फोटोले उनलाई नियन्त्रणमा लिएर मारिएको भन्ने प्रष्ट हुन्छ । तर, गृहमन्त्री भने निरन्तर उनी दोहोरो भिडन्तमा मारिएको दावी गर्दै आएका छन् । यहाँनेर प्रश्न छ कि यदि कुमार पौडेल दोहोरो भिडन्तमा गोली लागेर मारिएका हुन भने मरेपछि उनको हात किन भाँच्नुपर्यो ? यसबाट गृहमन्त्री सत्ताले जे गरे पनि हुन्छ र त्यसलाई पेलेरै भए पनि आफ्नो कुरा लाद्नुपर्छ भन्ने मनस्थितिमा रहेको प्रष्ट देखिन्छ ।

साथै अहिले आएर उनले उनी लोकतन्त्रको रक्षाका लागि मारिएका हुन समेत भने । त्यसैगरी गृहमन्त्रीले पौडेल स्थानीय जनप्रतिनिधिको आग्रहमा कारवाहीमा परेका हुन् पनि भन्न भ्याएका छन् । कुमार पौडेल मारिएको घटनाको जवाफ दिने सन्दर्भमा मंगलबार गृहमन्त्रीले यतिसम्म भने कि ‘सरकार लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ । देशमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध छ । साथै गृहमन्त्री थापाले यसलाई जनताको जनादेशसम्म भन्न भ्याए । हरेक सन्दर्भमा कुरा गर्दा जनताको जनादेश भनेर जोड्नु एक अर्थमा निरंकुशता नै हो । मान्छे मारिएको घटनाबारे जवाफ दिँदा गृहमन्त्रीले यो जनताको जनादेश हो भनेर अरु कुरासँग लपेटेर भन्नु कदापी सान्दर्भिक हुनसक्दैन । सायद नेपाली जनताले थापा र उनको दललाई यसैका लागि निर्वाचित गरेका पक्कै होइनन ।

ननस्टप खबर बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार