राजनीति
पुर्वी नेपालको भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य सुदन राई लामो समय जनयुद्धमा सहभागी भएर आएका एक नेता हुन्। उनीसँगै जनयुद्धमा सहभागी भएका उनका कयौँ साथीहरु अहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा छन्।
बुधबार बिहान भोजपुर सदरमुकामस्थित हटियामा भएको घटनामा सांसद किरातीले चिनेका दुवैजना मारिए। मारिनेमा एकजना थिए, उनी भोजपुर जाँदा सुरक्षा प्रदान गर्दै आएका प्रहरी जवान सञ्जीव राई । जो जिल्ला प्रहरी कार्यालयले खटाएका घुमुवाको भूमिकामा थिए।
प्रहरीसँगको गोली हानाहानका क्रममा मारिएका अर्का व्यक्ति थिए विप्लवका ओखलढुंगा सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’। प्रशान्तको घर भोजपुरको बोया हो भने सांसद सुदनको घर भोजपुरकै ओख्रे।
यो घटनाका क्रममा सादा पोशाकका प्रहरी र प्रशान्तबीच होटलभित्रै घम्साघम्सी भएको थियो।
भिडन्तस्थल भनिएको घटनास्थलबाट प्रहरीले एउटा चाइनिज पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको दाबी गरेको छ यद्यपि नेकपाले भने प्रहरी र प्रसान्त दुवैको ज्यान प्रहरीको गोली बाट भएको बताएको छ । सञ्जीवको शव सडकमै लडेको थियो। प्रशान्तको शव होटलबाट केही मिटरको दुरीमा खोल्सा नजिकैबाट प्रहरीले उठाएको छ । प्रशान्तलाई लगाइएको हतकडी प्रहरीले उनको ढलेपछि भएपछि खोलेर शवलाई जिल्ला अस्पताल लगेको छ ।
दुवै जुझारु युवा
विप्लवका कार्यकर्तासँग ज्यान गुमाएका प्रहरी जवान सञ्जीव राईको घर खोटाङको चेस्मेटार हो। घुमुवा प्रहरी भएकैले उनले स्थानीयसँग राम्रो सम्बन्ध स्थापित गरेका थिए।
‘प्रहरी जवान सञ्जीव साह्रै मिलसार र मिजासिला थिए, उनी जनतासँग तत्काल घुलमिल हुने क्षमता राख्थे’, सांसद सुदनले भने, ‘मेरो सुरक्षाका क्रममा गाउँ गाउँ पुग्दा उनी जनतासँग तत्कालै भिजेर सम्बन्ध स्थापित गर्थे, जुझारी युवा थिए।’
प्रशान्तलाई पनि उनी त्यसैगरी सम्झिन्छन् । जनयुद्धका क्रममा उनी जुझारु र लडाकु स्वभावका कमाण्ड रहेका बताउँछन् सुदन। ‘यसरी त भएन, दुवै जुझारु युवाले ज्यान गुमाए। लौन अब त वार्ता गरौँ’, उनले भने, ‘युवाहरु यसरी मारिँदा साह्रै दुःख लाग्यो। विप्लवजीले पनि अब वार्तामा आउनुपर्यो। सरकार पनि लचिलो हुनुपर्यो।’