राजनीति
यति बेला कम्युनिस्ट झन्डामा संसदिय अभ्यासमा बलियो मानिएको सरकार छ । जनअपेक्षा पनि बढेका छन तर दुर्भाग्य सर्भिस डेलिभरीमा वर्तमान सरकार एकपछि अर्को गर्दै कमजोरी गर्दै आएको देखिन्छ । पछिल्लो समय निकै चर्चामा रहेको बिषादी मिसिएको भारतीय तरकारी र फलफुलको बिषयले सरकार प्रती सर्वसाधारणको धारणा समेत एकदमै नकारात्मक बनेको छ । यतिमात्र होइन सत्तारुढ दल नेकपा भित्र पनि यसको बहस र घोचपेच सतहामा आउने गरि नै देखिए ।
सोहि बिषयलाइ लिएर केपी ओली र प्रचण्डका नजिक मानिने नेताहरु बिच दोहोरी जस्तै चल्यो । यसरी सामाजिक सञ्जालमा सार्वजनिक भएका केहि भनाइ यस्ता थिए ।
२१ गते बसेको नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएपछि विष्णु रिमालबाट एउटा ट्विट आयो । साङ्केतिक रूपमा नै सही, सार्वजनिक रूपमा आएको सो ट्विटमा प्रयुक्त भाषा र शब्दावलीको घोर आलोचना त भयो नै, सो ट्विट तत्कालीन माओवादी केन्द्रका नेताहरूप्रति लक्षित रहेको बुझ्न कसैलाई गाह्रो भएन ।
रिमालको ट्विटको भाषा यस्तो थियोः
‘भनिन्छ, छौँडाहरू आफै चलमलाउँदैनन् कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौँडाहरू आफै चलमलाएका हुन् कि कसैले छोडेका ?’
संसदीय दलको बैठकमा प्रधानमन्त्रीलाई लक्षित गरेर विषादी प्रकरण तथा र पार्टीको एकीकरणमा भइरहेको ढिलाइलाई लिएर पूर्वमाओवादी केन्द्रका नेताहरूले आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीको आलोचनापछि रिमालको त्यस्तो ट्विट आएको थियो । ट्विटमा सोझो भाषा प्रयोग गरिएको थिएन, त्यसमा बिम्बको प्रयोग गरिएको थियो । तर समयसन्दर्भ र त्यसमा प्रयुक्त शब्दावलीका कारण लख काट्न गाह्रो भएन, उनको ट्विट नेकपाभित्रका पूर्वमाओवादीका नेताहरूविरुद्ध केन्द्रित रहेको छ ।
रिमाल प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार हुन् । उनले लेख्ने र बोल्ने कुरामा धेरैजसो प्रधानमन्त्री ओलीको भावना, सोच र चाहना प्रतिबिम्बित हुन्छन् भन्ने बुझाइ धेरैको छ ।
नेकपाका स्थायी समितिका सदस्य जनार्दन शर्माले त्यसको भोलिपल्ट आफ्नो फेसबुकमा लेखे
विनाशकाले विपरीत बुद्धि… उफ’ ।
धेरैको बुझाइ छ, नेता शर्माको सो पोस्टको अन्तर्य सल्लाहकार रिमाललाई दिइएको जवाफ हो किनभने संसदीय दलको बैठकमा नेता शर्माको प्रस्तुति निक्कै कडा नै थियो ।
कुरा त्यतिमा नै सकिँदैन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले यसरी ट्विट गर्नुभन्दा पहिले प्रधानमन्त्री ओलीकै अर्का परराष्ट्र सल्लाहकार राजन भट्टराईले ‘भित्र र बाहिरका केही शक्तिहरू सक्रिय हुँदै गरेको अवस्था’ भनी आफ्नो फेसबुकमा लेखेका थिए ।
सरकारको काम कारबाही र साङ्गठनिक गतिविधिमा पार्टीभित्र र बाहिर आलोचना बढ्न थालेपछि सल्लाहकार भट्टराईले असार १० गते फेसबुकमा लेखे
‘बढ्दो जनअपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा वर्तमान व्यवस्था र संविधान उल्ट्याउने नभए वर्तमान सरकारका विरुद्ध प्रयोग गर्ने । यसका लागि कुन कुन व्यक्ति र शक्तिहरूलाई एक ठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्योलता सिर्जना गर्न सकिन्छ, त्यो गर्ने । यसका लागि भित्र र बाहिरका केही शक्तिहरू सक्रिय हुँदै गरेको अवस्था अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुस्प्रयास । समयमै सचेत भई जनमतको कदर गर्दै जनअपेक्षा पूरा गर्नतर्फ सबै केन्द्रित होऔँ ।’
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार रिमालको टिप्पणी ट्विटरमार्फत् सार्वजनिक भएको चार दिनपछि नेकपा केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका बारेमा १२ बुँदे लामो फेहरिस्त आफ्नो फेसबुकमा लेखेका छन् । त्यसमा पूर्वएमालेका नेता तथा सांसददेखि लिएर पूर्वमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सो दलका नेता तथा कार्यकर्तालाई डाम्ने कामसमेत उनले गरेका छन् ।
उनले लेखेका छन्,
‘पूर्वमाओवादी केन्द्रका तर्फबाट मन्त्री भएका केही व्यक्तिहरूको विवादास्पद निर्णय निर्देशित र निहित परिणाम लक्षित जस्तो छ । त्यसो गर्दा कूटनीतिक सम्बन्धको समेत ख्याल नगरी बिगार्ने खालको र संशयपूर्ण गतिविधि रहेको छ ।’
सल्लाहकार रिमाल र भट्टराईभन्दा उनी स्पष्ट रूपमा आएका छन् । उनले रिमाल र भट्टराईलाई पनि जवाफ दिएका छन् ।