सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले सोमवार ७७ जिल्ला र जिल्ला कमिटीकै हैसियतमा रहेका ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जहरुको टुंगो लगायो। ने क पाभित्र पार्टी एकताका लागि ‘एक व्यक्ति एक पद’को नीति तय भए पनि त्यसलाई लत्याउँदै जिम्मेवारी सुम्पिनेक्रम जारी छ। ‘एक व्यक्ति एक पद’ अध्यक्ष बाहेकलाई लागु हुने बताइए पनि तल्लो तहसम्म एकता पुर्याउँदा यो नीति एकपछि अर्को गर्दै लत्याइँदै आएको छ।
गत वर्ष जेठ ३ गते पार्टी केन्द्रमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी गठन गरी सुरु भएको एकता जिल्लासम्म पुग्दा पूरै वर्षदिन लाग्यो। अझै विभाग, आयोग तथा पोलिटव्यूरो गठन भएको छैन। पार्टी एकता गर्दा तीन महिनाभित्र टुंगोमा पुर्याउने भन्दै कार्यदलहरु गठन नभएको होइन। कार्यदलहरु एकपछि अर्को गर्दै बन्दै गए पनि एकता तलसम्म पुग्न एक वर्ष लाग्यो। तर, पनि कार्यदलले काम गर्न सकेनन्। पुन: अध्यक्षहरुलाई नै जिम्मेवारी दिइयो एकताको। दुई अध्यक्षहरुले एकतालाई अगाडि बढाउँदा सुरुमा लिइएको ‘एक व्यक्ति एक पद’को नीतिलाई लत्याइयो।
यता पार्टी एकता हुँदा श्रीमती अध्यक्ष बनेको स्थानमा श्रीमान इन्चार्ज बनेका छन्। भागबण्डाका आधारमा मकवनपुर जिल्लामा इन्चार्ज र अध्यक्ष नै पूर्व एमालेको भागमा पर्यो।
यहाँको जिल्ला अध्यक्षमा तत्कालीन एमालेका अध्यक्ष मनु सिग्देलले अध्यक्ष पाइन्। २०७२ सालमा भएको तत्कालीन एमालेको जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी रघुनाथ खुलाललाई एक मतले पराजित गर्दै उनी अध्यक्ष बनेकी थिइन्। उनी तत्कालीन एमालेमा एक्ली महिला जिल्ला अध्यक्ष हुन्। त्यस्तै सचिवमा तत्कालीन माओवादी केन्द्रका तर्फबाट प्रेम पुलामी चयन भए।
अहिले इन्चार्ज र सहइन्चार्ज तोक्दा पनि तत्कालीन एमालेको भागमा मकवनपुरको इन्चार्ज पर्यो। इन्चार्जमा विरोध खतिवडा चयन भएका छन्। उनी अध्यक्ष सिग्देलका पति हुन्। मकवानपुरमा कुमारी मोक्तान र रामेश्वर राना सह इन्चार्ज बनेका छन्। मोक्तान प्रदेश ३ की प्रदेशसभा सदस्य हुन्। उनी पहिलो संविधानसभा निर्वाचनमा मकवनपुर ४बाट तत्कालीन एकीकृत नेकपा माओवादीबाट विजयी भएकी थिइन्। यता राज्यमन्त्री सरहको सुविधा पाउने संसदीय समितिका सभापतिहरु पनि जिल्ला सह इन्चार्ज बनेका छन्। यसरी जिम्मेवारी पाउनेमा निरुदेवी पालले कञ्चनपुरको सह इन्चार्ज पाएकी छन्। उनी संसदको महिला तथा सामाजिक समितिकी सभापति हुन्। त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदी बाँके र विकास समितिको सभापति कल्याणीकुमारी खड्का रौतहटको सह इन्चार्ज बनेका छन्।
पहिलो पोष्टवाट साभार