राजनीति
सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्कीका सेक्रेटरी लोकेन्द्र विक ‘सुजन’ लाई प्रहरीले गिरफ्तार गरेको । सुजनलाइ जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिसो साढे ३ तिर गिरफ्तार गरेको जनाइएको छ ।
पार्टी कामको शिलशिलामा रहेका सेक्रेटरी विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको मालेपाटनबाट गिरफ्तार गरेर अवस्था अज्ञात राखेको नेकपा कास्कीले जनाएको छ । यस अघि तनहुँ जिल्लाको सेक्रेटरी रहेका विक कास्कीका सेक्रेटरी आक्रोश गिरफ्तार परेपछि भर्खरै मात्र सरुवा भएर कास्की आएका थिए ।
यसअघिका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । गिरतार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् । यसैबीच सरकारले नेकपामाथिको धरपकड व्यापक बनाएको छ ।
शुक्रबार मात्रै पनि नेकपानिकट युवा सङ्गठनका २ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । युवा संगठन जाजरकोटका अध्यक्ष खड्कबहादुर सिंह र सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ । दुवै जनालाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि २ जना कार्यकर्ता गिरफ्तार गरेको पुष्टि गरेको छ । सांगठनिक कामको सिलसिलामा वीरेन्द्रनगरमा रहेक ३२ वर्षीय जिल्लाअध्यक्ष सिंहलाई गोप्य सूचनाको आधारमा पिपिराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस्तै नेकपाका सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
उनलाई सुर्खेतको लेकवेशीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लेकवेशी–५ नेटा निवासी शाहीलाई घरबाट दशरथपुर जानेक्रममा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।