logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सत्ताको खोलमा गुण्डागर्दी भएको भन्दै क्रान्तिकारीको कडा बिज्ञप्ती


  • राजनीति
  • सोमबार, भाद्र २३ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्रहरीले बिनाकारण गिरफ्तार गरेका आफ्नो सङ्गठनका कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । समितिका संयोजक वीरेन्द्र शाहले विज्ञप्ति प्रकाशित गरी सङ्गठनका दार्चुला जिल्ला संयोजक ध्वनि धामी र खगराज नेपालीलाई झूट्टो मुद्दामा फसाउने षड्यन्त्र गरी बन्धक बनाएर राखिएकाले तत्काल रिहा नगरिए सङ्घर्षमा उत्रिने चेतावनी पनि दिएका छन् ।

शाहले विज्ञप्तिमा भनेका छन्, ‘देशमा यतिबेला केपी–बादल कम्पनीको श्वेतआतङ्क चलिरहेको छ । जनदमन, हत्या, हिंसा, देशभक्त नागरिकहरूमाथि झूट्टा मुद्दा, गिरफ्तारी र हिरासतमा यातना दिने कुकर्म गरिरहेका छन् । भदौ २१ गते हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) दार्चुला जिल्ला संयोजक ध्वनि धामी लगायत अन्य ८ जना विद्यार्थी भाइ बहिनीहरूलाई बिना कारण बैतडी गोकुलेबाट गिरफ्तार गरी बैतडी सदरमुकाम पु¥याइएको थियो । त्यसपछि अन्य सात जना विद्यार्थीलाई छोडे पनि ध्वनि धामी र खगराज नेपालीलाई झूट्टो मुद्दामा फसाउने षड्यन्त्र गरी बन्धक बनाएर राखिएको छ । विद्यार्थीहरूको हकहितकालागि सङ्घर्षरत विद्यार्थी नेताहरूमाथिको दमन र धरपकड रोक्न आग्रह गर्दा पनि यो राज्य र यसको प्रशासनबाट आफ्नै कानुनको उल्लङ्घन गर्दै स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउने, बोल्न पाउने, विद्यार्थीको पढ्न पाउने मौलिक हक हनन गर्दै सम्पूर्ण मानवअधिकार विरोधी हर्कत हुँदै आएको छ । यसको मूल्य दलालहरू र तिनका मतियारहरूलाई महँगो पर्नेछ ।’

शाहको विज्ञप्तिमा भनिएको छ, ‘पञ्चायतकालमा समेत विद्यार्थी सङ्गठन र विद्यार्थी नेताहरूमाथि नभएका हर्कतहरू यो राज्यले गरिरहेको छ । यो असाध्यै घृणित र निन्दनीयकुकर्म हो । साथै योभन्दाठूलो मानवता विरोधी हर्कत दुनियाँमा कहीँकतै भेटिँदैन । कथित कम्युनिस्ट सरकार र लोकतन्त्रका नाममा भैरहेको गुण्डागर्दी, सम्पूर्ण मानवता विरोधी हर्कतका विरुद्ध उभिन र यसको भण्डाफोर गर्न सम्पूर्ण पत्रकार मित्रहरू, मानवअधिकारवादी सङ्घसंस्था, कानुन व्यवसायी, बुद्धिजीवी वर्गलगायत आम जनसमुदाय समक्ष हार्दिक अपिल गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस्ता सम्पूर्ण मानवअधिकार विरोधी कुकर्म, सत्ता र शक्तिको खोलमा भैरहेको गुन्डागर्दी रोकी गिरफ्तार सङ्गठनका दार्चुला जिल्ला संयोजक ध्वनि धामी र खगराज नेपालीलाई निःसर्त ससम्मान रिहाइकालागि जोडदार माग गर्दछौँ । अन्यथा निर्मम सङ्घर्ष गर्ने जानकारी यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार