राजनीति
पोखरा – साझा पार्टीले कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाललाई चयन गरेका छन ।यसै गरी पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् ।
साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले सँयुक्त रुपमा माटोको टिका लगाएर शनिबार एक कार्यक्रमका बीच जिल्ला र महानगर संयोजक घोषणा गरेका थिए ।
साझा पार्टीका केन्द्रीय संयोजक मिश्रले भने ‘सम्बृद्ध र समुन्नत राज्यसँगै लोककल्याणकारी राजनीतिको परिकल्पना गरेर हामीले साझा पार्टीको राजनीति शुरुवात गरेका हौँ ।
साथै उनले कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा साझा पार्टीले यो पटक बलियो उपस्थिती जनाउने बताए र, दुई तिहाईको यो भ्रष्ट सरकारलाई एउटा गतिलो झापड दिनेछन् ।’
साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै खनालले जिल्लाका सबै गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तिव्रता दिने बताए ।
साझा पार्टीको कास्की जिल्ला संयोजक बनेका खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । उनी एक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षको रुपमा कार्यरत छन् भने आफ्नै लगानीमा होटल संचालन गरिरहेका छन् । सामाजिक अभियन्ताको रुपमा लामो समयदेखि संलग्न खनालले २५ भन्दा बढि देश भ्रमण गरिसकेका छन् ।
त्यस्तै साझा पार्टीको पोखरा महानगर सँयोजक बनेका गुरुङले नजिकिँदै गरेको उपनिर्वाचन भन्दा अगाडि नै महानगरका प्रत्येक वडामा संगठन विस्तार गरिसक्ने प्रतिबद्धता जनाए ।