logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कास्की निर्वाचनमा गौतम देखी गुरुङ्गको चर्चा कसले मार्ला बाजी


  • राजनीति
  • मंगलबार, भाद्र ३१ २०७६

नेपालीहरुको राष्ट्रिय चाड नजिकिँदै छ । तपाईहरुले बडादशैं भनेर सोच्नु भएको होला तर त्यसो होइन । नेपालीहरुको राष्ट्रिय चाड निर्वाचन बन्दै गएको छ । कास्कीमा राष्ट्रिय चाडका रुपमा दशै भन्दा अगाडि नै चुनावको चर्चा चलेको छ । जबकी दशैका लागि १ महिना पनि छैन तर चुनावका लागि साढे २ महिना नै बाँकी छ ।

तत्कालीन पर्यटनमन्त्री रबीन्द्र अधिकारीको असामयिक निधन पछाडि कास्की क्षेत्र नं २ रिक्त छ । यो ठाउँ अहिले राष्ट्रिय राजनीतिको वहसको बिषय बनेको छ । देशभरिका सबै पार्टीका जनता , नेता तथा कार्यकर्ताकोे नजरले कास्की क्षेत्र नं २ मा प्रवेश पाइसकेको छ ।

नेकपाबाट विद्याको नाम हराएपछि बामदेव र राजकाजीको नाम चर्चामा

कास्की २ मा यतिबेला नेकपा र नेपाली कांग्रेसका शीर्षस्थ नेताको नजर गडेको छ । नेकपाबाट तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी पत्नी बिद्या भट्टराइको चर्चा भएको केही समयमा नै उनको नाम एकाएक हराएको छ ।

केही समय अगाडि उनी आकांक्षी रहेको अभिव्यक्ति आएता पनि पार्टीको माथिल्लो तहमा उनको नाम कम र पार्टीका उपाध्यक्ष बामदेव गौतमको नाम बढी सुनिन थालेको छ । नेकपा भित्रको एउटा समूह बामदेवलाई सकृय राजनीतिमा पुनःस्थापित गराएर एमाले खेमा बलियो बनाउने अभियानमा लागेको छ भने यता नेकपा भित्रकै अर्काे खेमाले राजकाजी गुरुङ करणलाई अगाडि सार्नु पर्ने मत जाहेर गरेको छ ।

नेकपाको अंकगणित भन्दा फरक बन्न सक्छ कास्की २

कास्की २ मा रवीन्द्रको प्रभावले गर्दा नेकपा बलियो छ भन्नेमा पार्टी पंक्ति ढुक्क छ । तर नेकपाको अंकगणित भन्दा फरक छ सो स्थानको निर्वाचन । एकातिर सरकार प्रतिको जनताको वर्तमान असन्तुष्टि र अर्का तर्फ स्थानीय नेतामाथि गरिएको उपेक्षा । टुरिष्ट नेतालाई उम्मेदवार बनाउन नहुने चर्चा कार्यकर्तामाझ भुषको आगोजस्तो सल्किदो छ । तर, यहाँका नेता भने यो विषयमा मौन छन् । वामदेव नै उम्मेदवार बने टुरिष्टको आरोप र सरकारको अलोकप्रियता दुबैले नेकपाको भोट घटाउमा रहने सम्भावना प्रबल रहेको छ ।

स्व.रबीन्द्र अधिकारी यो स्थानबाट ३ पटक चुनावमा भारी मतका साथ निर्वाचित भएका थिए । रबीन्द्रको त्यो बिरासत जोगाउन नेकपालाई अब गाह्रो हुने नेकपा भित्रै हल्ला हुन थालेको छ । बामदेवलाई कास्की २ बाट टिकट दिँदा पार्टीका लागि हित हुने भएता पनि कास्कीको विकास र सम्बृद्धिमा केही फाइदा हुँदैन भन्ने आशंका जनस्तरमा चल्न थालेको छ । करन कास्कीमा स्थानीय जनताबीच घुलमिल भएका नेता हुन । उनी कास्कीलाई राजनीतिक कर्मथलो बनाएर अगाडि बढेका छन र टिकट उनले पाउनुपर्नेमा स्थानीयहरुको दाबी रहेको छ ।

काँग्रेस पनि अझै उम्मेद्वारकै खोजीमा

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट धनराज गुरुङ , देवराज चालिसे , सोभियतबहादुर अधिकारी , कृष्ण कार्की र बीरेन्द्रनारायण बिजुक्छे चर्चामा रहेका छन । उनीहरु मध्ये गुरुङ जिल्ला बाहिरका भएका कारण र देउबाको निकट नभएका कारण कम सम्भावनामा रहेको कास्कीका नेका नेताहरुको भनाइ छ । चालिसे र अधिकारीमा टिकट एक जनाले ल्याउँछन भन्दै नेका बृतमा चर्चा चुलिएको बेला कृष्ण कार्की र बिजुक्छेलाई स्थानीय स्तरमा जनताले युवा तथा नयाँ पात्र खोज्ने भएका कारण टिकट उनीहरुले पाउनुपर्ने भन्दै युवा नेताको लबिङ गरिरहेका छन ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा कांग्रेसको कमजोर वडाहरु १६, १७, २०, २१ र ३३ मानिएका छन । वडा नम्बर १७ एमालेको गढ मानिन्छ । गएको चुनावमा वडा नम्बर १६ मा एमालेले ३१ सय ३३ र कांग्रेसले २८ सय ६८ मत, वडा नम्बर १७ मा एमालेले ३ हजार ६४ र कांग्रेसले १७ सय ६३, वडा नम्बर २० मा एमालेले १२ सय २३ र कांग्रेसले ६ सय ३१, २१ मा एमालेले २५ सय १३ र कांग्रेसले ८ सय १३ तथा वडा नम्बर ३३ मा एमालेले २३ सय ७३ र कांग्रेसले १९ सय ९१ मत पाएका थिए । पोखरा लेखनाथ महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडालाई राखेर २ नम्बर क्षेत्र बनाइएको हो ।

यसरी कास्की २ को यस अघिको निर्वाचनले नेकपा प्रतिको अहिलेको जनरुझान त स्पष्ट हुन्छ नै । तर नेकपाले पनि सही उम्मेदवार दिन सकेन भने रवीन्द्रको सो स्थानमा निर्वाचन त कसैले जित्ला तर रवीन्द्र अधिकारीको सपना त्याग तथा बलिदानको श्राप सिंगो पार्टीलाई नलाग्ला भन्न सकिन्न ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार