logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

परिवर्तन उल्टाउने सपना नदेख्न प्रचण्डको चेतावनी


  • राजनीति
  • शुक्रबार, असोज ३ २०७६

सत्तारुढ दल नेकपा अध्यक्ष प्रचण्डले नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा भएको बताएका छन् ।

चौथो संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रचण्डले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ अघि बढ्न मार्ग प्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रचण्डले भनेका छन्, ‘यस अवसरमा सर्वप्रथम जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

यसक्रममा बेपत्ता भएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु । यस संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेस लगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

उनले संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको स्मरण गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको पनि बताएका छन् ।

संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित, पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको समेत प्रचण्डले बताएका छन् ।

‘जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन्‚ प्रचण्डको सन्देशमा भनिएको छ, ‘जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार