पोखरा -वडा अध्यक्ष बीरेन्द्र गुरुङ रिहाई भएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ परेका वडाअध्यक्ष गुरुङ र स्थानीय युवा बिपुल शर्मालाई बिहिबार रिहा गरेको हो । वडा अध्यक्ष गुरुङ कांग्रेसबाट उमेद्वार भएर वडा नं। १ बाट निर्वाचित भएका हुन् ।
दुई जना रिहाई भएपछि पार्टीले गाउँमा बाजागाजाका साथ फुलमाला अबिर खादा लगाएर स्वागत सम्मान गरेको थियो ।
गत महिना भदौ २५ गते बुधबार उनीहरु सहितको केहि टोलीले गाउँपालिकाको बैठक कक्षमा रहेको सामाग्रीहरु तोडफोड गरेको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनीहरुलाई भदौ ३१ गते पोखराको जिरो किलोमिटरबाट पक्राउ गरेको थियो । उनीहरु विरुद्ध गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले उजुरी दिएकी थिईन् ।
गाउँपालिका उपप्रमुख कृष्णकुमारीलाई खुसीमान गुरुङको नेतृत्वमा भेट्न पुगेका उनीहरु बैठक बसिरहेकाले भेट्न आधा घण्टा लाग्ने सुचना दिएपछि भेट्न समय नदिएको भन्दै बैठक हलको कुर्ची तोडफोड गरेको उनले बताएकी थिइन् ।
कांग्रेसका नेताहरुले भने गाउँपालिकाले गरेका निर्णयहरु सार्वजनिक गर्न माग गरेको र गाउँपालिकाले बेवास्ता गरेकोले यस्तो परिणाम आएको बताएका थिए ।गाउँपालिकाले गर्ने निर्णय थाहा नहुने र निर्णय चाहियो भन्दा धेरै पटक आलटाल गरेपछि यूवाहरु आक्रोशित भएका हुन् ।