राजनीति
साहित्यकार तथा बरिस्ठ लेखक खगेन्द्र संग्रौलाले नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा माथिको बहस अनुचित भएको टिप्पणी गरेका छन् ।
सीको विचारधारालाई लिएर नेकपामा सुरु बहसबारे अनेक क्रिया-प्रतिक्रिया सार्वजनिक भइरहेका बेला संग्रौलाले टि्वट गर्दै अनावश्यक ‘भक्तिभजन’मा नेकपा उत्रिएको टिप्पणी गरेका हुन् ।
समाजवादका नाममा सीले चीनमा सञ्चालन गरेको शासन कुनै विचारधारा नभएर ‘निरंकुश अभ्यास’ भएको संग्रौलाको भनाइ छ । सीको शासनलाई विचारधारा मानेर बहस गरिनु हनुमानगिरी भएको संग्रौलाको टिप्पणी छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैंलगत्तै नेपाल भ्रमणमा आउने चर्चा पछिल्लो समय चलेको छ । यद्यपि, नेपाली र चिनियाँ दुवै पक्षले सीको भ्रमणको मिति औपचारिक जानकारी गराइसकेका छैनन् । २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउने बताइएको
छ।
प्रमुख सत्तारूढ दल नेकपामा सी नेपाल भ्रमणमा आउने तय भएसँगै उनको विचारधारालाई लिएर बहस सुरु भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच काठमाडौंमा समाज रुपान्तरण, कम्युनिस्ट अनुशासन र विकास तथा समृृद्धिका एजेण्डामा दुई दिन छलफल हुँदैछ । दुवै देशका कम्युनिस्ट पार्टीहरु आयोजक बनेर काठमाडौंमा गर्न लागिएको कार्यक्रमको नाम ‘नेपाल-चाइना फ्रेण्डसीप सिम्फोजियम’ राखिएको छ । कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ तावको नेतृत्वमा उच्चस्तरीय टोली सोमबार काठमाडौं आउँदै छ ।
यस्ताे छ संगाैलाकाे ट्विट
सम्राटतुल्य “सी” सरकाे चीनमा समाजवादका नाममा जनताका मुख थुनेर कठाेर राज्य-पूँजीवादकाे अभ्यास गरिँदै छ।याे निरङ्कुश अभ्यासलाई ” सी विचारधारा” भन्दै सत्ताधारी नेकपा डबलका सरकारी बुध्दिजीवीहरूमाझ” सी” सरकाे भक्तिभजन शुरू भएछ।ठीकै हाे,ख्वामित् रामविना हनुमान कसरी पाे जिउन सकाेस् र ? ।