logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

नेमकिपामा बिजुक्छे पछि कस्ले बन्ला प्रमुख, प्रजापति वा सुवाल ?


  • पत्रपत्रिका
  • शुक्रबार, असोज १० २०७६

सातौँ महाधिवेशनबाट पनि अध्यक्षमा नारायणमान बिजुक्छेलाई चुनेर बाँकी केन्द्रीय समिति गठन गरेपछि नेमकिपामा घोषित उत्तराधिकारी कोही देखिएन । ३–६ असोजसम्म चलेको सातौँ महाधिवेशनले सर्वसम्मत रूपमा पार्टी प्रमुखमा बिजुक्छेलाई सातौँपटक पुनःनिर्वाचित गरेर नेमकिपाका शक्तिशाली र निर्विकल्प नेता उनी मात्रै रहेको सन्देश दिएको छ ।

बिजुक्छेलाई चुनौती दिने नेता नेमकिपामा कोही देखिएको छैन भने भावी उत्तराधिकारी पनि उनकै समर्थनबाट मात्रै स्थापित हुने संकेत नयाँ महाधिवेशनले गरेको छ । ०३१ सालमा नेपाल मजदुर किसान संगठन स्थापना गरेका बिजुक्छेले निरन्तर ४५ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका छन् । वि.सं. १९९६ मा सुकुलढोका भक्तपुरमा निम्नमध्यम परिवारमा जन्मिएका बिजुक्छे अविच्छिन्न नेमकिपा हाँकिरहेका छन् ।

पहिलोपटक ०१४ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । सरकारले २०२१ सालमा क्रान्तिकारी भूमि सुधार घोषणा गरेपछि त्यसैको जगमा उनले संगठन निर्माण गरेका हुन् । पञ्चायती व्यवस्थादेखि निर्वाचनलाई उपयोग गर्दै आएका बिजुक्छे २०४८ सालदेखि संसदीय निर्वाचनमा सहभागी भए । संसदीय निर्वाचनमा ०४८ यता उनले कहिल्यै हार व्यहोर्नुपरेको छैन ।

निरन्तर ०४८ देखि ०७४ सालसम्म करिब २६ वर्ष सांसद भए । युवालाई संसद्मा अवसर दिने भन्दै ०७० साल निर्वाचनमा उनले उम्मेदवारी दिएनन् । त्यसको चौतर्फी प्रशंसा पनि भयो । पार्टी महाधिवेशनमा भने ८० वर्षीय बिजुक्छे आफैँ अघि सरेका छन् ।

को–को छन् २५ सदस्य केन्द्रीय समितिमा ?
नेमकिपाले अध्यक्ष बिजुक्छेसँगै २५ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । केन्द्रीय समितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले , नवराज कोइराला, जग्यबहादुर शाही चयन भएका छन् । त्यस्तै, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाईं , उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका छन् । कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाईं, सिर्जना सायजू, सरोजकुमार साहसमेत सदस्यमा निर्वाचित भएका छन् । अधिवेशनले कृष्णबहादुर तामाङ र मुक्ति यादवलाई वैकल्पिक सदस्य चुनेको छ ।

पार्टी संरचना संघीय ढाँचामा
नेमकिपाले पार्टीका संरचनालाई संघीय ढाँचामा लैजाने निर्णय गरेको छ । महाधिवेशनले केन्द्रीय कार्यसमिति चयन गरेपछि मंगलबार बसेको बैठकले सचिवालय र प्रदेश समितिका संयोजक तोकेको हो ।

बैठकले बिजुक्छेको अध्यक्षतामा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, सुनील प्रजापति र नन्दबहादुर शाही रहेको केन्द्रीय सचिवालय गठन गरेको छ । बैठकबाट पार्टीको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति मनोनीत भएका छन् । बैठकमा अध्यक्ष बिजुक्छेले रविन्द्र ज्याख्यलाई केन्द्रीय सदस्य र नारायण दुवाललाई वैकल्पिक केन्द्रीय सदस्यका रूपमा मनोनीत गरेका छन् ।

बैठकले पार्टीलाई संघीय ढाँचामा लैजान प्रदेश संयोजक तोकेको छ । प्रदेश १ मा उकेश कवां, प्रदेश २ मा सुरेन्द्रराज गोसार्इं, प्रदेश ३ मा प्रेम सुवाल, प्रदेश ४ मा डिल्लीप्रसाद काफ्ले, प्रदेश ५ मा हरिसुन्दर बासी, प्रदेश ६ मा सरोजराज गोसाईं र प्रदेश ७ मा नन्दबहादुर शाहीलाई प्रदेश संयोजक चयन गरिएको छ ।

निर्वाचनमा निरन्तर सहभागी, तर संसद्मा सदाबहार प्रतिपक्ष
नेमकिपाले पञ्चायती व्यवस्थादेखि नै निर्वाचन उपयोग गर्दै आएको थियो । जनमतसंग्रहपछि पहिलोपटक २०३३ सालमा भक्तपुरबाट कर्णप्रसाद हेजूलाई निर्वाचनमा उठाएर जितेको थियो । पञ्चायती व्यवस्थाबाट जनप्रतिनिधि भए पनि बहुदल र कम्युनिस्ट व्यवस्थाको पैरवी गर्दै आएको थियो । पञ्चायती व्यवस्थायता नेमकिपाबाट झन्डै २ दर्जन नेता सांसद भए ।

नेमकिपा कहिल्यै सरकारमा गएन । पञ्चायतीको अन्तिम जनप्रतिनिधिको रूपमा ०४३ सालमा गोविन्द दुवाल मात्रै निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलनपछि ०४८ सालमा भक्तपुर १ बाट बिजुक्छे र जुम्लाबाट डिल्लीबहादुर महतले निर्वाचन जिते । त्यो पार्टी फैलिएर ०५१ मा भक्तपुरमा नारायणमान बिजुक्छे र आशाकाजी बासुकला, जुम्लाबाट भक्तबहादुर रोकाय र दैलेखबाट विनोदकुमार शाही सांसद भए । ०५६ मा भने बिजुक्छे मात्रै निर्वाचित भए । पछिल्लो समय नेमकिपाको बलियो पकड भक्तपुर नगरपालिका मात्रै देखिएको छ ।

०६४ मा भक्तपुर १ बाट नारायणमान बिजुक्छे, भक्तपुर २ बाट सुनील प्रजापति प्रत्यक्ष निर्वाचित भए । लीला ल्याइच्याँई, नवराज कोइराला, जग्यबहादुर शाही समानुपातिक सांसद भए । दोस्रो संविधानसभा निर्वाचन ०७० मा नारायणमान बिजुक्छे मात्रै प्रत्यक्ष चुनिए । समानुपातिकबाट अनुराधा थापामगर, डिल्लीप्रसाद काफ्ले र प्रेम सुवाल चुनिए । प्रतिनिधिसभा निर्वाचन ०७४ मा भक्तपुर १ बाट प्रेम सुवाल, प्रदेश सभातर्फ भक्तपुर क्षेत्र नम्बर ‘क’बाट सुरेन्द्रराज गोसाईं प्रत्यक्षमा निर्वाचित भए । प्रदेश सभातर्फबाट समानुुपातिकबाट सिर्जना सैँजू निर्वाचित भइन् ।

भावी नेतृत्वका दुई दाबेदार प्रजापति र सुवाल

नेमकिपाको भावी अध्यक्षमा सुनील प्रजापति र प्रेम सुवाल दाबेदारका रूपमा देखिएका छन् । पार्टीबाहिरका सार्वजनिक मञ्चहरूमा खासै अभिव्यक्ति नदिए पनि पार्टीभित्र भने उनीहरूको सक्रियता र नेतृत्व क्षमता वृद्धि हुँदै गएको एक केन्द्र्रीय सदस्यले बताए ।

बिजुक्छेको मूल नेतृत्वका हाराहारीमा कुनै पनि किसिमको गुट–उपगुट देखिँदैन । तर, पार्टीभित्र प्रजापति र सुवालले आ–आफ्नो पकड बलियो बनाउँदै लगेका छन् । नेमकिपाभित्र बिजुक्छेको सर्वोच्च व्यक्तित्वका कारण कसैले पनि खुलेर उत्तराधिकारीको दाबी गरेका छैनन् ।

सुनील प्रजापति र प्रेम सुवाल
पार्टीले पनि कसैलाई उत्तराधिकारी तोकेको छैन । ०७४ को स्थानीय निर्वाचनमा भक्तपुरको मेयरमा सुरुमा सुवालले दाबी गरे, पछि प्रजापतिले हात पारे । सुवाल प्रतिनिधिसभामा चुनिए । अहिले सुवाल पार्टी सचिव छन् ।

प्रजापति भक्तपुर नगरको मेयर छन् । भक्तपुरमा मेयर हुँदा राम्रो काम गरेर पार्टीमा स्थापित हुन सकिन्छ भन्ने मनोविज्ञान नेमकिपाभित्र छ । अध्यक्षमा सातौँपटक पनि बिजुक्छे नै निर्वाचित भएपछि सुवाल र प्रजापति दुवै मौन छन् । बिजुक्छेकै दाहिना भएर मात्रै भावी नेतृत्वमा पुग्न सकिन्छ भन्ने दुवै नेतालाई लागेको छ ।

बन्दुक बोक्दैमा सबै कम्युनिस्ट हुँदैनन् : बिजुक्छे
अध्यक्ष बिजुक्छेले समाजवादी क्रान्ति अधुरो रहेकाले त्यसलाई पूरा गर्न आफू पुनः अध्यक्षमा चुनिएको बताए । ‘हामी पार्टीका कार्यकर्ता हाैँ, जे जिम्मेवारी पार्टीले दिन्छ, त्यो जिम्मेवारी लिने र पूरा गर्ने हाम्रो काम हो,’ उनले भने, ‘देशमा अझै समाजवाद ल्याउन बाँकी छ, त्यही क्रान्ति पूरा गर्न पार्टीले मलाई पुनः अध्यक्षको जिम्मेवारी दियो ।’

अध्यक्ष चुनिएपछि बिजुक्छेले देशमा समाजवाद र साम्यवादी व्यवस्था नआएसम्म क्रान्ति जारी रहने बताए । उनले बन्दुक बोकेकै भरमा कोही पनि कम्युनिस्ट नहुने बताए । उनले भने, ‘बन्दुक बोकेकै भरमा माओवादीलाई कम्युनिस्ट भन्न सकिन्न, बन्दुक बोक्ने सबै कम्युनिस्ट हुने भए नेपाली कांग्रेस ००७ सालमा कम्युनिस्ट भइसक्थ्यो, पृथ्वीनारायण शाहदेखि राणाहरूसमेत कम्युनिस्ट हुन्थे ।

नेमकिपा नेवारको मात्रै पार्टी हो भनेर भ्रम फैलाउने, अब खुम्चिएर जान्छ भन्नेहरूलाई सातौँ महाधिवेशनले जवाफ दिएको छ, सबै जातजाति, भाषाभाषी र भूगोललाई समेटेर केन्द्रीय समिति बनेको छ ।’ उनले महाधिवेशनमा ३३ जिल्लाका प्रतिनिधि सहभागी भएको र अन्य जिल्लामा समेत पार्टीको संगठन मजबुत बन्दै गएको दाबी गरे । नयाँ पत्रिका मा खबर छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार