राजनीति
पोखरा- राजनीतिक दलहरूभित्र कसलाई सभामुखको लागी अगाडी बढाउने भन्दै छलफल सुरु भएको छ ।
सभामुख पद रिक्त भएछि भावी सभामुखको खोजी र यसको प्रक्रियाका विषयमा संविधानअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने भएकाले सभामुख पद लिन कस्तो विकल्पमा जाने भनेर सत्तारूढ नेकपाभित्र आन्तरिक छलफल हुन थालेको स्रोतले बताएको छ ।
नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुखमा रहेकाले सभामुख पदमा अर्को दलले सिफारिस गरेको व्यक्ति हुनुपर्छ । तर सत्तारूढ दलले सभामुख पद अर्को दललाई दिन चाहेको छैन । स्रोतका अनुसार सभामुखका लागि कतिपय नेताले लबिइङ थालिसकेका छन् ।
स्रोत अनुसार तुम्बाहाङ्फे स्वयंले आफूलाई सभामुखका लागि स्वाभाविक रूपमा दाबेदार मानेकी छन् । उनले उपसभामुख पद छाडिनन् भने प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार नेकपाले सभामुख पद अर्को दलका लागि छाडिदिनुपर्छ । यस्तो अवस्थामा स्वाभाविक रूपमा सत्ता साझेदार समाजवादी पार्टीलाई सभामुख पद छाड्नुपर्छ । तर नेकपाले त्यसो गर्न चाहेको छैन ।
सभामुख नेकपासँगै रहने अवस्थामा केही नयाँ र पुराना नाम चर्चामा आइसकेका छन् । पूर्वएमालेबाट संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र उपसभामुख तुम्बाहाङ्फे सम्भावित सभामुखका रूपमा चर्चामा छन् । पूर्वमाओवादीबाट भने पूर्वसभामुख ओनसरी घर्ती, अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङको चर्चा छ । तर यहाँभित्र पनि राजनीतिक हिसाबकिताब हेरिन्छ । नेकपाका अध्यक्ष दाहाल भुसाल र गुरुङलाई अहिले पनि पार्टीभित्र रामबहादुर थापा कित्ताकै ठान्छन् । थापा समूह दाहालसँग असन्तुष्ट हुँदै मोहन वैद्यसँगै पार्टीबाट अलग्गिएका थिए । पछि एकीकरण गरेर थापा फर्के ।
सापकोटा दाहालका विश्वास पात्र हुन् तर उनी संक्रमणकालीन न्यायसम्बन्धी थुप्र्रै मुद्दामा जोडिएका छन् । महरा पूर्वमाओवादीकै भएकाले तिनैमध्येका नेतालाई सभामुख बनाउने सम्भावना धेरै छ । यस्तोमा घर्तीको दाबी आउन सक्छ । ‘यसको पछाडि अर्को पनि कारण छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्दा ऊर्जामन्त्री वर्षमान पुन ब्याक हुनुपर्यो भने उनले सभामुखमा रूपमा आफ्नी श्रीमती घर्तीलाई अघि सार्न सक्छन् ।’
कान्तिपुरबाट साभार