राजनीति
चीनका राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता तय भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच आइतबार बिहान साढे १० बजे होटल सोल्टीमा ‘वान अन वान’ भेटवार्ता तय भएको हो।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति सीसँगको दुई पक्षीय वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन्। अध्यक्ष प्रचण्डले चाहिँ पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने र त्यो टोलीमा अध्यक्ष ओली बाहेकका सचिवालयका सात सदस्य रहने अनुमान गरिएको थियो।
सी–प्रचण्ड एक्लाएक्लै भेटवार्ता हुने चर्चाले नेकपामा तरंग ल्याएको छ। राष्ट्रपति सीसँग प्रचण्डको यो भेट संभवतः चौथो हो। सन् २०१३ मा राष्ट्रपति भएलगत्तै सीले तत्कालीन एकीकृत माओवादीका अध्यक्ष रहेका प्रचण्डलाई एक्लै बेइजिङ निम्त्याएर भेटवार्ता गरेका थिए। त्यसपछि सीसँग प्रचण्डको भेट दोस्रो पटक प्रधानमन्त्री भएपछि बेइजिङमा र ब्रिक्स–बिमस्टेक आउटरिचमा सहभागी हुने क्रममा भारतको गोवामा भएको थियो।
नेकपा स्थायी समितिका ती नेताका अनुसार अध्यक्ष प्रचण्डले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध, नेकपाको बुहमतको सरकारले लिएका निर्णय तथा नेपाल–चीन सम्बन्ध र क्षेत्रीय राजनीतिबारे आफ्ना धारणा राख्ने तयारी गरेका छन्।