राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छिन्।
चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा शनिबार साँझ होटल सोल्टीमा आयोजित रात्रिभोजमा राष्ट्रपति भण्डारीले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र स्रोतसाधनका कारण नेपालीको त्यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले भनिन्,‘नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन्। रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीहरुको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ।’
उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकंक्षालाई पूरा गर्नका लागि मित्रराष्ट्र चीनसँगको सहकार्यलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताइन्। ‘हामीले जतिसक्दो चाँडो अतिकमविकसित मुलुकबाट स्तरोन्नती हुँदै सन् २०३० सम्मका लागि मध्यम आय भएका मुलुकका रुपमा परिणत हुने उद्देश्य राखेका छौँ,’ उनले भनिन्,‘यो उद्देश्य प्राप्तिका लागि हामीलाई चीनको सहयोग अपरिहार्य छ।’
उनले चिनियाँ लगानीकर्तालाई नेपालको उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गरिन्।
उनले नेपाल र चीनको सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उँचो रहेको बताइन्। ‘पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावनाहरु छन्,’ राष्ट्रपति भण्डारीले भनिन्।
उनले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउन चीनको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताइन्। चीनले सदैव नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नाका साथै नेपाली जनताले छनोट गरेको विकासको पथलाई समर्थन गर्दै आएकोमा राष्ट्रपति भण्डारीले प्रशंसा गरिन्।
राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताइन्। ‘नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरुका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका ठोस उपायहरु अवलम्बन गर्दै आएका छौँ,’ उनले भनिन्।
उनले दुवै देश र जनताको हितमा हुने गरी चीनसँगको समग्र सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन नेपाल प्रतिबद्ध रहेको बताइन्।