राजनीति
शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगारहरु उत्पादन गर्ने कारखानाजस्तै भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ वर्षभित्रैमा बेरोजगारी समस्या समाधान गर्न नसकिने बताएका छन ।
सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको शैक्षिक धार्मिक तथा साँस्कृतिक महाहोत्सव एवम् ऐतिहासिक संगीतयम लीलामय श्रीमद्भागवत विराट ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने ‘हाम्रा शैक्षिक केन्द्रहरु, शैक्षिक संस्थानहरु, विद्यालय, क्याम्पसहरु शैक्षिक बेरोजगारहरुको उत्पादन गर्ने कारखाना जस्तै भइरहेको छ । यसको अन्त्य नगरी हाम्रो भविष्य उज्यालो छैन’, उहाँले अघि थप्नुभयो, ‘एउटा हातमा प्रमाणपत्र, अर्को हातमा ज्ञान, सीप भएको शिक्षा आवश्यक छ ।’
यसैगरी, उहाँले ५ वर्षभित्रैमा बेरोजगारी समस्या समाधान गर्न नसकिने हुन ।
‘५ वर्षभित्रैमा बेरोजगारी समस्या समाधान सम्भव छैन । डोनाल्ड ट्रम्प,सी जिनपिङले गर्न नसकेको कुरा नेपालका केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङले गर्न सक्छन् ? सम्भव नै छैन, जनतालाई ढाँट्न हुन्न’, उहाँले थप्नुभयो, ‘हामीले हाम्रो शिक्षा प्रणाली परिवर्तन गर्दै लैजानुपर्छ । बिस्तारै मावि तह, ब्याचलर लेभल र मास्टर्स लेभलमा विद्यार्थीहरुलाई सीपमूलक शिक्षा दिनुका साथै आत्मनिर्भर भई बाँच्न सक्ने, आत्मा विश्वास बढाइदिने काम हामीले गर्नुपर्छ ।’
क्याम्पसको निर्माणाधीन भवनलाई सम्पन्न गरी स्नातोकोत्तर तह सञ्चालन गर्ने, शैक्षिक गुणस्तर वद्धि गर्ने र क्याम्पसलाई कम्पाउण्डिङ गर्ने उद्धेश्यले महायज्ञ सञ्चालन गरिएको क्याम्पसका अध्यक्ष एवम् भक्ति आदर्श बहुमुखी क्याम्पस महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक धु्रवबहादुर कुवँरले बताउनुभयो ।
श्यामशितल परियारले उज्यालो नेटवर्कमा लेखेका छन।