राजनीति
पोखरा – उमेदवारको आकांक्षा र क्षेत्रीय कार्यसमितिले सहमति जुटाउन नसक्दा मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की कांग्रेसले १६ जनाकै नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।
कास्की २ मा रिक्त प्रतिनिधीसभाको उपनिर्वाचन आउन अब एक महिना बाँकी छ भने, निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक समेत गरिसकेको छ ।उमेदवारको टुंगो लगाउने केन्द्रले बढीमा तीनजनासम्मको नाम पठाउन भनेको थियो । तर, क्षेत्रीय कार्यसमितिको बैठकमा १६ जनाले आकांक्षा देखाएपछि कार्यसमिति नै विभाजित हुन पुग्यो ।
अघिल्लो चुनावमा तत्कालीन एमालेबाट उम्मेदवार बनेका रवीन्द्र अधिकारी ८ हजार ५ सय ४६ मतान्तरले विजयी हुँदा कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमेपछि सो क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेसबाट खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, देवराज चालिसे, माधव बास्तोला ‘मधु’, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषीले पनि उमेदवार बन्ने आकांक्षा देखाएका छन् । यसैगरी कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी टिकट फुत्काउने दौडमा छन् ।