राजनीति
पोखरा/ माओवादी केन्द्रको भागमा परेको प्रदेश–७ को मुख्यमन्त्रीका लागि प्रदेश ईञ्चार्ज लेखराज भट्टले त्रिलोचन भट्टको नाम पार्टी हेडक्वार्टरमा सिफारिस गरेपछि माओवादी केन्द्रको प्रदेश–७ मा विवाद सिर्जना भएको छ ।
पोलिटब्यूरो सदस्य बीरभान चौधरीका साटो नेता भट्टले डोटीबाट प्रदेश सभामा निर्वाचित नेता त्रिलोचन भट्टको नाम सिफारिस गरेपछि असन्तुष्ट पक्षले दार्चुला ‘‘ख’ बाट निर्वाचित मानबहादुर धामीलाई उठाउने भएको छ ।
प्रदेश कमिटीको निर्णय भन्दै शुक्रबार भट्टले डोटीबाट निर्वाचित त्रिलोचन भट्टको नाम पार्टी हेर्डक्वार्टरमा पेश गरेका थिए । कैलाली कञ्चनपुरको थारु ‘सेन्टिमेन्ट’ को सम्मानका लागि पनि कैलाली–३ ‘क’ बाट निर्वाचित चौधरीलाई मुख्यमन्त्री बनाउने चर्चा थियो ।
तर, शुक्रबार अकस्मात नेता भट्टले डोटीका त्रिलोचन भट्टको नाम १ नम्बरमा राखेर पार्टी हेडक्वार्टरमा सिफारिस गरेपछि अर्को पक्षले धामीलाई उठाउने निर्णय गरेको हो । असन्तुष्ट पक्षले नेता भट्टले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ ।
‘लेखराज भट्ट प्रदेश ईञ्चार्ज हुनुहुन्छ, प्रदेश पार्टीको लेटरप्याड उहाँसँगै छ’ मुख्यमन्त्रीका दावेदार वीरभान चौधरीले भने, ‘त्यसैको दुरुपयोग गरेर मुख्यमन्त्रीको सिफारिस गर्ने काम भयो। तर, त्यो सिफारिस काम लाग्दैन, संसदीय दलमा धामीजी उठ्नुहुन्छ र जित्नुपनि हुन्छ ।’
चौधरीका अनुसार, मुख्यमन्त्रीको सिफारिसका लागि प्रदेश कमिटीको कुनै बैठक बसेको छैन, यतिसम्म कि, प्रदेश ईञ्चार्ज भट्ट निकटका नेताहरुलाई समेत सिफारिस अघि कुनै जानकारी गराइएको थिएन । उनले थपे,‘ उहाँले मनोमानी ढंगले सिफारिस गर्नुभयो, सबै साथीहरु असन्तुष्ट हुनुहुन्छ ।’
प्रदेश ईञ्चार्ज भट्टले चाहिँ विहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्यमन्त्रीका लागि बेलुकीसम्म नाम सिफारिस गर्न आग्रह गरेको र समय अभावका कारण सबैसँग फोन गरेर धारणा बुझी सिफारिस गरेको दावी गरे ।