सत्तारुढ दल नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र माधवकुमार नेपाललाई प्रधानमन्त्री ओलीले फकाउँदै गरेको समाचार प्रकाशित गरेको छ । प्रम ओलीले गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव अघि सारेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रुपमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतलाई समचारमा उल्लेख गरिएको छ । गौमलाई यस्तो प्रस्ताव गर्न अघि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए ।
यता, प्रम ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भण्डै तीन महिनापछि संवाद भएको छ । तिक्त विवादको ८२ दिनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपालबीच चार घन्टा लामो एक्लाएक्लै छलफल भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । ओली र नेपालबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी सञ्चालनसहित समसामयिक राजनीतिक परिस्थिति र भारतसँगको सीमाविवादमा केन्द्रित रहेर चार घन्टा लामो छलफल भएको हो । भेटवार्तामा उनीहरूले तिक्त सम्बन्धको समीक्षा गर्दै कमीकमजोरी दोहोरिन नदिने र संवाद बाक्लो बनाउने सहमतिसमेत गरेका छन् । ५ भदौमा बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली–नेपालबीच चर्काचर्की परेको थियो । सिंगापुरमा उपचारका लागि जानुअघि डाकिएको बैठकमा नेपालले दिएको स्वास्थ्यलाभको शुभकामना ओलीले अस्वीकार गरेपछि भनाभन भएको थियो । ओली–नेपाल सम्बन्ध चिसिएपछि दुवै समूहका कतिपय नेताहरू चिन्तित थिए ।