राजनीति
आश तमु, मंसिर १४ गते हुदै गरेको उपनिर्वाचनमा कास्की क्षेत्र न २ का समाजवादी पार्टीका उम्मेदवार ई धर्मराज गुरुङले आफ्नो देशको राजनैतिक सिस्टम नै बिग्रेकोले यसलाई सुधार गर्न आफुलाई भोट दिन अपिल गरेका छन। पोखरा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै ई गुरुङले भाषणमा भन्दा काममा विश्वास गर्ने दाबी गर्दै देशमा काम गर्ने भन्दा भाषण गर्ने धेरै भए भन्दै चिन्ता समेत व्यक्त गरे ।
२४ बर्ष बिर्टिस लाहुरे र १५ बर्ष युएनमा प्राबिधिक जिवन बिताएर नेपाल फर्केका गुरुङले आफुले सिकेको ज्ञानलाई देशमा उपयोग गर्ने बताए।देश विकास गर्नका लागि सबैभन्दा पहलिे सोचाइ बदल्नु जरुरी रहेको उनले भनाई राखे । एउटालाई एकथोक अर्कोलाई अर्को भिन्दै कानुनले देश विकास हुन न सक्ने उनले तर्क राखे । ‘सबै कुरा नेताले गर्ने होइन,’ उनले भने, ‘जनताले गर्ने हो । तर, कानुन समान हुनुपर्छ ।’
चुनाव जितेर गएपछि आफ्नो क्षेत्रका पिछडिएका वडा विकास गर्ने उनले बताए । त्यसका लागि सो क्षेत्रका जनतासँग संवाद गरेर संसदमा पेश गर्ने उनले आश्वासन दिए । पोखरा बसपार्क र फेवाताल किनारमा रहेका सुकुम्बासी समस्याको प्रसंग उप्काउँदै गुरुङले यो समस्या तत्काल अन्त गर्नुपर्ने भनाई राखे । ‘पोखरा भ्यालीमा सुकुम्बासी बढी छन् । उहाँहरुलाई भोट ब्याङ्क नबनाएर राष्ट्र निर्माणमा लगाउनुपर्छ,’ उनले भने । जस्तो चलि रहेको छ त्यस्तै चलाउने भनेर देश बिग्रिएको उनको भनाई छ ।
आफू भूपु भएकाले पनि भूपुहरुको समस्यालाई सम्बोधन गर्ने उनले भनाई राखे । ‘उहाँहरुको थुप्रै समस्या छ । मैले पनि त्यो समस्या बुझेको छु, त्यसको लागि सहकार्य गरेर देश बनाउने सपना छ,’ उनले भने, ‘त्यसको लागि धर्मराजलाई जिताउन । हात चिह्नमा भोट हालेर जिताउनुस् । त्यसको बादमा काम गर्न नसके भन्नुपर्यो । तपाईंहरुको भोट चाहिन्छ मलाई ।’
पुरानो कृषि प्रणालीले गर्दा उब्जनी धेरै हुन नसकेको सुनाउँदै गुरुङले आधुनिक कृषि प्रणालीको लागि पहल गर्ने बताएका छन् । समाजवादीले पोखराको पृथ्वीचोकामा चुनावीसभा गरेको छ । सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा समाजवादी अध्यक्ष बाबुराम भट्टराई, नवनिर्वाचित कानुनमन्त्री उपेन्द्र यादव पोखरामा छन् । समाजवादीले मानवअधिकार चोकबाट विशाल ¥याली निकालेको थियो ।