logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओलीकाे नक्कली राष्ट्रवादबाट भ्रम मुक्त बनाै : नेता भट्टराई


  • राजनीति
  • आइतबार, मंसिर ८ २०७६

आइतबार पोखरामा समाजवादी पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा मिचिँदासमेत प्रधानमन्त्री ओली चुपचाप रहेको आराेप लगाएका छन् ।

भारतीय नाकाबन्दीको समयमा प्रधानमन्त्री ओलीले लिएको अडानको स्मरण गर्दै अध्यक्ष भट्टराईले साँच्चै नै कडा अडान लिने आएछन् भन्ने भ्रममा परेर जनताले भोट हालेको जिकिर गरे । ‘निकै नै कडा अडान लिने मान्छे आएछन् क्यारे ! भनेर उनको राष्ट्रवादी छवि हामीमा भ्रमित भएर आयो, त्यही देशभक्त भावनाबाट प्रेरित भएर उहाँलाई हामीले भोट दिएका थियौ,’ उनले भने, ‘कालापनी, लिम्पियाधुराको जुन कुरा उठिरहेको छ ।

के भइरहेको छ ? ६० वर्षदेखि भारतीय सेना आएर बसिरहेको छ, लिपुलेकदेखि लिम्पियाधुरासम्मको सिमाना कालिनदीले निर्माण गरेको सिमानाभन्दा पूर्वको भाग नेपाली भू–भाग हो भनेर सुगौली सन्धिमा प्रष्ट लेखिएको छ ।’ शासकहरुले जनतासामु राष्ट्रियताको चर्को डङ्का पिट्ने र भित्रभित्र विदेशी शक्तिसँग झुकेर आफ्नो भू–भाग सुम्पेको भन्दै उनले कडा आलोचना गरे । ‘त्यो चाहे राजा महेन्द्र हुन्, चाहे अहिलेका केपी ओली हुन्,’ उनले भने, ‘त्यत्रो राष्ट्रवादको नारा उठाउने मान्छेले, किन केही गरिरहनुभएको छैन ?’

सिमा विवादको कुरा उठिसकेपछि प्रधानमन्त्रीलाई भेटेर सीमा रक्षाका लागि सुझाव समेत दिएको उनले उल्लेख गरे । राजनीतिक उच्चस्तरीय संवाद गरेर कुटनीतिक तवरले यो विवादलाई समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उनले सुनाए । ‘कर्मचारी स्तरबाट यो हल हुँदैन । तपाईंले तुरुन्त यो पहल गर्नुस्, मैले भेटेर भनेको थिए,’ उनले भने ।

भारतीय प्रधानमन्त्रीसँग सिधा सम्पर्क गरेर विवाद सुल्झाउनुको साटो सानो नोटजस्तो बनाएर पत्र पठाएको सुन्नमा आएको भन्दै उनले कडा आलोचना गरे । ‘उहाँले कुनै राजनीतिक पहल गर्नु भएको छैन ।’ प्रधानमन्त्रीले बाहिर राष्ट्रवादको डङ्का पिटेर भित्रभित्रै सत्ताको डरले लत्रिएर बसेको भन्दै उनले कडा आलोचना गरे । ‘यस्तो नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने ?’ उनले प्रश्न गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार