राजनीति
बिभिन्न कारणले रित्त रहेका निर्वाचन क्षेत्रहरुका बिभिन्न केन्द्रमा आज उपनिर्वाचन हुदैछ । सोहि केन्द्रका वरिपरि मतदान केन्द्रलाइ लक्षित गरी बम बिस्फोटका आवाज सुनिन थालेका समाचार प्राप्त भएको छ ।
प्रदेश ४ को कास्की सदरमुकाम पोखरास्थित नयाबजारमा रहेको नवप्रभात मावि मतदान केन्द्रमा बम बिस्फोट भएको छ।
मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको बताइएको छ। बम बिस्फोटको आवाज ठुलो भए पनि मतदाता नभएको स्थानमा बिस्फोट भएकाले कोही कसैलाई चोट नलागेको प्राप्त समाचारमा जनाइएको छ। तर केही बेर मतदाता भागाभाग गरेका थिए। तर अहिले मतदान सुचारु रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सो बम कसले किन पड्काएको हो भन्ने बारेमा केही खुलेको छैन। तर यस उपनिर्वाचनलाई सशक्त बहिष्कार गर्न आव्हान गरेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सो बम बिष्फोट गराएको हुनसक्ने सुरक्षा निकायले आशंका गरेको छ।
आज बिष्फोट भएको मतदान केन्द्र सत्तारुढ नेकपाको अन्तिम चुनाबी सभा भएको र बम बिष्फोट भएको भनिएको प्रदर्शनी केन्द्र नजिकै पर्छ।
सत्तारुढ नेकपाको चुनाबी सभामा बम बिस्फोट भएपछी उचित सुरक्षा ब्यबस्था दिन नसकेको भन्दै २४ घण्टा अघि मात्र सो क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी कोमल शाहलाई सघिय प्रहरी कार्यालय गण्डकी प्रदेशमा तानिएको थियो।
यसै गरी पोखरा – ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि मतदान केन्द्र नजिक बम बिष्फोट भएको छ। बम विस्फोट भएपछि केही बेर मतदाताहरु भागाभाग गरेका थिए ।अहिले नियमित मतदान भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित शान्ति मावि जुम्लेती अर्मलामा पनि दुई पटक विस्फोट भएको छ । मतदान सुरु भए लगत्तै एक पटक र पौने ९ बजेतिर दोश्रो पटक बम पड्किएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।शान्ति माविको पर्खाल बाहिर भएका कारण खासै क्षति छैन । बम पड्किएपछि केही मतदाताहरुमा त्रास बढेको र केही मत कम खस्न सक्ने आँकलन गरिएको छ।
लगातारको बिष्फोटकाकारण कास्की जिल्लाको सुरक्षा ब्यबस्था र सुरक्षा सम्बन्धि सुचना संयन्त्र कमजोर रहेको टिप्पणी हुन थालेको छ।
यसैबीच प्राप्त जानकारी अनुसार, धरान स्थित ठिङ्गावारी लगायत विभिन्न स्थानमा उपनिर्वाचनको पुर्वसंन्ध्या शुक्रवार मध्यराती शृङ्खलाबद्ध बम विस्फोट भएका छन । ४-५ वटा शक्तिसाली बम लगातार विस्फोट भएका हुन ।
प्रहरिले बिस्फोटका घटनालाइ लुकाउन प्रयत्न गरेपनी स्थानियका अनुसार शाक्तिशाली बम बिस्फोट भएको जनाइएको छ । सन्तोस चौहानको घर नजिक बम विस्फोट भएको बताइएको छ । बिस्फोटबाट कुनै मानविय क्षति नभएपनी हरि चौहानको घरको झ्यालको सिसा फुटेको जनाइएको छ ।
त्यस्तै डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं. २ मा भइरहेको उपनिर्वाचनलाई लक्षित गरी राखिएका २ वटा बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिं देउवाका अनुसार शुक्रबार राति १ र शनिबार बिहान १ गरी दुई वटा बम प्रहरीले फेला पारेको हो । वडा नं २ मा रहेको कुचेडा र त्यसभन्दा १ किलोमिटर अघि रहेको जंगलमा बम फेला परेको देउवाले जानकारी दिए । वडाध्यक्ष पदका लागि आदर्श गापाको वडा नं २ मा उपनिर्वाचन भइरहेको छ । ३ मतदान केन्द्रमा बिहानैदेखि मतदान चलिरहेको छ ।